होमपेज / शिक्षा
सञ्जीव शर्मा, असार १० सल्यान ।
सिद्ध कुमाखी सामुदायिक अध्ययन केन्द्र रागेचौरद्वारा सामुदायिक विद्यालयका ६० जना विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री वितरण गरेको छ ।
कुमाख गाउँपालिका ३ रागेचौरको सिद्ध कुमाखी सामुदायिक अध्ययन केन्द्रले वडा नं १ देखी ५ नं सम्मका सामुदायिक विद्यालयका टुहुरा तथा विपन्न विद्यार्थीहरूलाई झोला, कापी, कलम, वर्णमाला लगायतका शैक्षिक सामाग्री वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकीले यस्ता टुहुरा, अति विपन्न बालबालिकाको डाटा राख्न र यस कार्यक्रमबाट बालबालिकाहरूलाई प्रत्यक्ष लाभ पुग्ने बताउँदै आफू निर्वाचित भइसकेपछि आफ्नो मुख्य ध्यान शिक्षा र स्वास्थ्यमा रहेको बताउनु भयो । आगामी दिनमा यस्ता कार्यक्रमका लागी सकारात्मक सोच हुने बताउनु भयो । आर्थिक अवस्था कमजोर भएकै कारण कोही पनि बालबालिका शिक्षाबाट वञ्चित हुनु नपर्ने उहाँको भनाई छ । शिक्षा, स्वास्थ्य आधारभूत कुरा भएकाले राज्यले त्यसको दायित्व लिने उहाँको भनाई छ ।
विपन्न, टुहुरा बालबालिका कुमाख गाउँपालिकाका विद्यालयमा अझ धेरै भएको र क्रमशः सबैलाई सहयोग गर्न सके यस अध्ययन केन्द्रको प्रभावकारिता बढ्ने र यसका लागी स्थानीय निकायले पनि सहयोग गर्नुपर्ने शिक्षा शाखा प्रमुख दीपक कुमार चन्दले बताउनु भयो ।
सामुदायिक अध्ययन केन्द्रले शैक्षिक सामग्री वितरण गरेर विद्यार्थीमा उत्साह जोस, जाँगर र शैक्षिक क्षेत्रमा बालबालिकाले अब्बल उपलब्धिहरू हासिल गरी आफ्नो भविष्य उज्ज्वल बनाउने तर्फ ध्यान दिने वडा अध्यक्ष केवल बहादुर रानाको भनाई छ ।
संस्थाका सञ्चालक समिति सदस्य तथा जनता मा.वि. रागेचौरका प्रधानाध्यापक गोरख बहादुर बुढाथोकीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भुवनेश्वर शर्माले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण नारायण मा.वि. का शिक्षक धन बहादुर रावतले गर्नु भएको थियो ।
कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिलाई अबिर आवरण गरी दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।





.jpg)