होमपेज / राजनीति
मंसिर २,सल्यान
पञ्चायतकालका अन्तिम स्वर्गीय मरिचमान सिंह श्रेष्ठको शालिक सल्यानमा अनावरण गरिएको छ । राष्ट्रवादी र स्वाभिमानी व्यक्तित्वका रूपमा परिचित श्रेष्ठको शालिक शारदा नगरपालिक १, श्रीनगरस्थित रुकुम तथा खलंगा जाने चोकमा निर्माण गरी अनावरण गरिएको हो ।
स्थानीय युवाहरूको पहलमा निर्माण गरिएको शालिकले सल्यानको ऐतिहासिक पहिचान र राष्ट्रिय राजनीतिमा जिल्लाको योगदानलाई स्मरण गराउने अपेक्षा गरिएको छ । लामो समयदेखि राष्ट्रिय राजनीतिमा योगदान पु¥याएका जिल्लाका व्यक्तित्वको सम्मान र भावी पुस्तालाई उहाँको इतिहासबारे जानकारी गराउने उद्देश्यले शालिक निर्माण गरिएको मरिचमान सिहं श्रेष्ठ फाउन्डेशनका सचिव सुदर्शन बुढाथोकीले जानकारी दिनु भयो ।
सल्यानको खलंगामा विस १९९७ कात्तिक १७ गते जन्मिएका श्रेष्ठ नेपालको २७औँ प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँ वि सं २०४३ मा नेपालको प्रधानमन्त्री बन्नुभएको थियो । पञ्चायती व्यवस्थाको अन्तिम चरणमा सरकारको नेतृत्व गर्नुभएका श्रेष्ठले वि सं २०४६ सालको जनआन्दोलनसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
२०४६ सालमा देशभर बहुदलीय व्यवस्था पुनःस्थापनाको माग गर्दै जनआन्दोलन चर्किंदै गएपछि चैत २३ गते उहाँले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । त्यसपछि देशको राजनीतिक व्यवस्था परिवर्तन भई बहुदलीय प्रजातान्त्रिक व्यवस्था पुनःस्थापना भएको थियो ।
श्रेष्ठ प्रधानमन्त्री रहेका बेला भारतले नेपालमाथि आर्थिक नाकाबन्दी लगाएको थियो । त्यस समयमा अत्यावश्यक वस्तु तथा इन्धनको आपूर्तिका लागि वैकल्पिक व्यवस्था खोज्ने सरकारको प्रयासलाई उहाँका समर्थकहरूले राष्ट्रिय स्वाधीनता र स्वाभिमानसँग जोडेर स्मरण गर्ने गरेका छन् । यही कारण पनि उहाँलाई राष्ट्रवादी नेताका रूपमा चिन्ने गरिएको छ ।
प्रधानमन्त्री हुनुअघि श्रेष्ठले शिक्षण पेसाबाट आफ्नो सार्वजनिक जीवन सुरु गर्नुभएको थियो । उहाँ राष्ट्रिय पञ्चायतको सदस्य हुँदै विभिन्न मन्त्रालयको जिम्मेवारी र राष्ट्रिय पञ्चायतको अध्यक्षसमेत बन्नुभएको थियो । स्थानीय युवाहरूको पहलमा निर्माण गरिएको शालिकले जिल्लाको इतिहास, राजनीतिक योगदान र व्यक्तित्वको पहिचानलाई जीवन्त राख्ने विश्वास गरिएको बुढाथोकीको भनाई छ । श्रीनगरको महत्वपूर्ण चोकमा निर्माण गरिएको शालिकले सद्यल्यान आउने नयाँ पुस्ता तथा आगन्तुकलाई समेत जिल्लाका ऐतिहासिक व्यक्तित्वबारे परिचित गराउने अपेक्षा गरिएको उहाँको भनाई छ ।
श्रेष्ठको शालिक निर्माणसँगै उहाँको जन्मभूमि सल्यानमा उहाँको राजनीतिक जीवन, योगदान र इतिहासलाई संरक्षण तथा प्रचारप्रसार गर्नुपर्ने विषयले समेत चर्चा पाएको छ।





.jpg)