ट्रेण्डिङ

होमपेज / राजनीति

रास्वपा बनगाड कुपिण्डे नगर समितिको नेतृत्व लोकेन्द्र वली

  इन्द्र बुढाथोकी २०८३ जेठ १७ गते आइतबार १७:३३:३५ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बनगाड कुपिण्डे नगरपालिकाको प्रथम नगर अधिवेशनले लोकेन्द्र वलीको नेतृत्वमा नयाँ नगर समिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवनिर्वाचित समितिको सभापतिमा लोकेन्द्र वली, उपसभापतिमा जयकृष्ण शर्मा, सचिवमा रामबहादुर खत्री, सहसचिवमा निमबहादुर पुन तथा कोषाध्यक्षमा कृष्णकुमारी बुढाक्षेत्री निर्वाचित हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा राधा ढकाल, रामबहादुर विष्ट, कुमार बुढाथोकी, पहलमान पुन, हस्तबहादुर पुन, बलबहादुर राना, मिलन बुढा, मिना साहु, अमर बस्नेत, लक्ष्मण परियार, तारा खड्का, दीपक घर्ती, रेमन्त बिसी, गणेश परियार, नरेश परियार, टेकबहादुर रोकाय र बुद्धिकुमारी बस्नेत चयन हुनुभएको छ।

अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै रास्वपाका कर्णाली प्रदेश सभापति मदनबहादुर खड्काले देश निर्माणको अभियानमा सबैलाई जोडेर अघि बढ्नु नै रास्वपाको मूल उद्देश्य रहेको बताउनुभयो। उहाँले विभिन्न राजनीतिक दलमा काम गरेर अनुभव हासिल गरेका व्यक्तिहरू अहिले रास्वपामा संगठित भएको उल्लेख गर्दै विगतका दलहरू कमजोर बन्नुमा आफूहरू पनि केही हदसम्म जिम्मेवार रहेको स्वीकार गर्नुभयो।

उहाँले रास्वपामा आबद्ध भएपछि इमानदारिता, जवाफदेहिता र जनहितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो। चाहना वा लोकप्रियताका आधारमा मात्र नभई क्षमता, योग्यता र कार्यसम्पादनका आधारमा जिम्मेवारी प्रदान गरिने स्पष्ट पार्दै पार्टीका हरेक नेता तथा कार्यकर्ताको गतिविधिमाथि निगरानी भइरहेको बताउनुभयो। सुशासन कायम गर्ने र भ्रष्टाचारमुक्त समाज निर्माण गर्नु रास्वपाको प्रमुख उद्देश्य रहेको उहाँको भनाइ थियो।

“जनताको पक्षमा काम गर्न सकेनौँ भने जनताले हामीलाई पनि छोड्ने छैनन्,” उहाँले भन्नुभयो।

कार्यक्रममा रास्वपाका केन्द्रीय संगठन विभाग सदस्य सुशील अधिकारीले पार्टीका सबै सदस्य इमानदार भई जनताको सेवामा समर्पित हुनुपर्ने बताउनुभयो। उहाँले स्वच्छ राजनीति र जनउत्तरदायी कार्यशैलीलाई पार्टीको आधारभूत मूल्यका रूपमा स्थापित गर्नुपर्ने धारणा राख्नुभयो।

कर्णाली प्रदेश महामन्त्री ललित चन्दले सल्यानमा पार्टीप्रति देखिएको जनलहरलाई बलियो संगठनमा रूपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो। उहाँले सल्यानको विकासमा रास्वपाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै सबै पक्षसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा कर्णाली प्रदेश सहमहामन्त्री राजबहादुर शाही, नेता केवल गिरी, समीर न्यौपानेलगायतले संगठन विस्तार, सुशासन र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकासका विषयमा धारणा राख्नुभएको थियो।

नवनिर्वाचित सभापति वलीले नगरवासीको अपेक्षाअनुसार पार्टीलाई थप सुदृढ बनाउँदै जनताका मुद्दा र आवश्यकतालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। अधिवेशनले नगरपालिकाका सबै वडामा संगठन विस्तार गर्दै आगामी राजनीतिक तथा सामाजिक गतिविधिलाई प्रभावकारी बनाउने निर्णयसमेत गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top