होमपेज / समाज
सल्यान । विपद्का बेला तत्काल खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सल्यानका ८ स्थानीय तहका विपद् व्यवस्थापन समितिलाई विभिन्न उद्धार सामग्री हस्तान्तरण गरिएको छ।
बुधबार (मंसिर ११ गते) जिल्लाका आठ स्थानीय तहका स्थानीय विपद् व्यवस्थापन समितिलाई विपद् व्यवस्थापन तथा खोज उद्धारमा प्रयोग हुने सामग्री वितरण गरिएको हो।
आईपाल नेपाल (Ipal Nepal) को सहयोगमा दलित विकास समाज सल्यानको समन्वय तथा सहजीकरणमा स्थानीय गाउँपालिका तथा नगरपालिकासँगको सहकार्यमा सञ्चालित ‘हेल्थ सिस्टम रेजिलियन्सी फर इम्प्रुभ्ड एसआरएचआर इन नेपाल’ परियोजनाअन्तर्गत सामग्री हस्तान्तरण गरिएको हो।
शारदा नगरपालिका, कालिमाटी, त्रिवेणी, कपुरकोट, छत्रेश्वरी, सिद्धकुमाख, कुमाख र दार्मा गाउँपालिकाका स्थानीय विपद् व्यवस्थापन समितिलाई सामग्री उपलब्ध गराइएको दलित विकास समाज सल्यानले जनाएको छ।
विपद्का बेला तत्काल खोज तथा उद्धार कार्य सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको दलित विकास समाजका कार्यक्रम संयोजक तोरणबहादुर बुढाथोकीले जानकारी दिनुभयो। उहाँका अनुसार विपद्का समयमा आवश्यक पर्ने आधारभूत उद्धार सामग्री स्थानीय तहमा उपलब्ध हुँदा आपत्कालीन अवस्थामा छिटो र प्रभावकारी रूपमा परिचालन गर्न सहयोग पुग्नेछ।
हस्तान्तरण गरिएका सामग्रीमा त्रिपाल, गैँती, बेल्चा, रेनकोट, हेल्मेट, सर्चलाइट, कम्बल, स्ट्रेचर, हँसिया, साबेल, टोचन, उद्धार डोरी, सर्च एन्ड रेस्क्यु किट, लाइफ ज्याकेट, गमबुट, पञ्जा, प्राथमिक उपचार बाकस, मेगाफोन, सिठी, सर्च लाइट, हेडटर्चलगायतका सामग्री रहेका छन्।
त्यसैगरी आगलागी नियन्त्रण तथा प्रतिकार्यका लागि फायर एक्स्टिङ्गुइसर, फायर ब्ल्याङ्केट, फायर ब्याकप्याक पम्प, फायर अलार्म, फायर रेक, सीओटु फायर एक्स्टिङ्गुइसरलगायतका सामग्री पनि उपलब्ध गराइएको छ।
उद्धार तथा विपद् प्रतिकार्यका लागि वितरण गरिएका सामग्रीको कुल मूल्य ६ लाख ९ हजार १५० रुपैयाँ बराबर रहेको छ।
स्थानीय तहमा आवश्यक उद्धार सामग्री उपलब्ध गराउँदा बाढी, पहिरो, आगलागी तथा अन्य विपद्का घटनामा तत्काल प्रतिकार्य गर्न सहज हुने अपेक्षा गरिएको छ। यसले स्थानीय समुदायको विपद् सामना गर्ने क्षमता अभिवृद्धि गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।





.jpg)