होमपेज / समाज
सल्यान । मानवअधिकार, सामाजिक न्याय र सुशासनका पक्षमा आवाज उठाउँदै आएका युवा मानवअधिकार रक्षकहरूको सञ्चार तथा पैरवी क्षमता अभिवृद्धि गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
युवा मानवअधिकार रक्षकहरूले अभियान सञ्चालनका क्रममा भोग्नुपरेका चुनौती सम्बोधन गर्दै उनीहरूको आवाजलाई प्रभावकारी बनाउन सञ्चार तथा पैरवी रणनीति आवश्यक रहेको सरोकारवालाहरूले बताएका हुन्।
युवा मानवअधिकार रक्षकहरूको सञ्चार तथा पैरवी रणनीति निर्माणका लागि आयोजित परामर्श कार्यशाला शुक्रबार सल्यानको खलंगामा सम्पन्न भएको छ। रोयम नेपालद्वारा सञ्चालित ‘एकता परियोजना’ अन्तर्गत मङ्सिर ११ गते आयोजित कार्यशालामा युवा मानवअधिकार रक्षकहरूले सामना गरिरहेका चुनौती, उनीहरूको सुरक्षा र अभियानलाई प्रभावकारी बनाउने उपायबारे छलफल गरिएको थियो।
मानवअधिकार उल्लङ्घन, विभेद, सामाजिक अन्याय, सुशासन तथा सार्वजनिक सेवाका सवालमा युवाहरूले स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहसम्म आवाज उठाउँदै आएका छन्। तर, यस्ता अभियान सञ्चालन गर्दा सामाजिक दबाब, दुर्व्यवहार, गलत सूचना, डिजिटल असुरक्षा, मनोसामाजिक तनाव तथा व्यक्तिगत सुरक्षासम्बन्धी चुनौती सामना गर्नुपरेको सहभागीहरूले बताएका थिए।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख अस्वीर बुढाथोकीले युवाहरू समाज परिवर्तनका संवाहक भएकाले उनीहरूले उठाएका सवाललाई स्थानीय सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो। युवाका आवाजलाई जिल्लाभर प्रभावकारी रूपमा उठाउन तथा उनीहरूको अभियानमा आवश्यक सहयोग र समन्वय गर्न आफू प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।
त्यस्तै, सिद्धकुमाख गाउँपालिकाका उपाध्यक्ष रामबहादुर बस्नेतले युवाहरूलाई निराशा र नकारात्मक सोचबाट मुक्त गर्दै सकारात्मक सोच, सिर्जनशीलता र उद्यमशीलतातर्फ अग्रसर गराउन आवश्यक रहेको बताउनुभयो। युवाहरूले अधिकारका विषयमा आवाज उठाउनुका साथै आर्थिक तथा सामाजिक रूपान्तरणमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उहाँको धारणा थियो।
उहाँले भन्नुभयो, “युवाहरूमा सम्भावना र क्षमता प्रशस्त छ। त्यसलाई सही दिशामा परिचालन गर्न स्थानीय सरकार, सामाजिक संस्था र समुदायबीच सहकार्य आवश्यक छ। युवालाई अवसर, सीप र नेतृत्व विकासको वातावरण दिन सके समाज परिवर्तनमा उनीहरूको भूमिका अझ प्रभावकारी बन्न सक्छ।”
शारदा नगरपालिका–४ का वडाध्यक्ष किशोर हमालले स्थानीय तहमा नागरिकका सवाल उठाउन युवाहरूको सक्रियता आवश्यक रहेको बताउनुभयो। युवाहरूले समुदायमा देखिएका समस्या पहिचान गरी तथ्य र प्रमाणका आधारमा सम्बन्धित निकायसम्म पुर्याउन सके सार्वजनिक सेवा प्रवाह र स्थानीय सुशासनमा सकारात्मक परिवर्तन ल्याउन सकिने उहाँको भनाइ थियो।
कार्यक्रममा सहभागी अन्य सरोकारवालाहरूले मानवअधिकार संरक्षण कुनै एक व्यक्ति वा संस्थाको मात्र जिम्मेवारी नभई राज्य, नागरिक समाज, सञ्चारमाध्यम र समुदाय सबैको साझा दायित्व भएको बताएका थिए। युवाहरूले उठाएका सवाललाई बेवास्ता गर्नुको सट्टा सम्बन्धित निकायले सुन्ने, सम्बोधन गर्ने र आवश्यक सहयोग गर्ने वातावरण निर्माण गर्नुपर्नेमा उनीहरूको जोड थियो।
युवा मानवअधिकार रक्षक सञ्जाल सल्यानकी उपाध्यक्ष खिमा बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ सल्यानका प्रमुख रामचन्द्र रेग्मी, नेपाल पत्रकार महासङ्घ सल्यान शाखाका अध्यक्ष डिल्लीराज राउत, अपाङ्गता कल्याणकारी संघ सल्यानका अध्यक्ष कृष्ण बुढालगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यशालामा रोयम नेपालका कर्णाली प्रदेश संयोजक सन्तोष विकले मानवअधिकार रक्षकहरूको सञ्चार तथा पैरवी रणनीति निर्माणको आवश्यकता, उद्देश्य र कार्यान्वयनका पक्षमा सहजीकरण गर्नुभएको थियो।
छलफलका क्रममा मानवअधिकारका सवाललाई प्रभावकारी रूपमा सार्वजनिक गर्न तथ्यमा आधारित सूचना संकलन, सञ्चारमाध्यमसँगको सहकार्य, डिजिटल सुरक्षाको अभ्यास र योजनाबद्ध पैरवीलाई प्राथमिकता दिनुपर्ने सुझाव आएको थियो। साथै, मानवअधिकार रक्षकहरूको पहिचान र योगदानलाई समाजमा स्थापित गर्दै उनीहरूको व्यक्तिगत तथा संस्थागत सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने विषयसमेत उठाइएको थियो।
कार्यशालाबाट प्राप्त सुझावका आधारमा युवा मानवअधिकार रक्षकहरूको सञ्चार तथा पैरवी रणनीति निर्माण र कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।





.jpg)