ट्रेण्डिङ

होमपेज / समाज

शारदा नगरपालिकाका ७ हजार २०० घरधुरीलाई निःशुल्क विद्युत्

  सल्यान खबर डेस्क २०८३ कार्तिक २२ गते शनिबार १९:०९:१३ मा प्रकाशित

 सल्यानको शारदा नगरपालिकाले करिब ७ हजार २०० घरधुरीलाई निःशुल्क विद्युत् उपलब्ध गराउने भएको छ । नगरपालिकाले ५ एम्पियर क्षमताको विद्युत् मिटर जडान गरेका घरधुरीलाई २०८३ साल मंसिरदेखि न्यूनतम विद्युत् महसुल तिरिदिने भएको हो ।

यसका लागि शुक्रबार शारदा नगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच न्यूनतम विद्युत् महसुल निःशुल्क गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

कार्यक्रमअन्तर्गत मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने ५ एम्पियर मिटर जडान गरेका ग्राहकले तिर्नुपर्ने न्यूनतम विद्युत् महसुल नगरपालिकाले व्यहोर्नेछ । नगरपालिकाका अनुसार यो कार्यक्रम २०८४ साल असार मसान्तसम्म सञ्चालन हुनेछ ।

शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले विशेषगरी विपन्न तथा न्यून आय भएका नागरिकलाई लक्षित गरी कार्यक्रम ल्याइएको बताए । सामान्य न्यूनतम विद्युत् महसुल बुझाउनकै लागि सदरमुकामस्थित विद्युत् कार्यालयसम्म पुग्नुपर्ने बाध्यता अन्त्य गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।

उनले विशेषगरी नगरपालिकाका दुर्गम तथा दूरदराजका बस्तीमा बसोबास गर्ने नागरिकलाई न्यूनतम विद्युत् महसुल बुझाउनकै लागि यातायात भाडा र अन्य खर्च गरेर विद्युत् कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्न खोजिएको बताए ।

नगरप्रमुख भण्डारीका अनुसार यस कार्यक्रमबाट शारदा नगरपालिकाका करिब ७० देखि ७५ प्रतिशत नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ ।

कार्यक्रमबाट सुविधा लिन ५ एम्पियरको मिटर जडान गरेका नगरवासीले एकपटक मात्र सम्बन्धित वडा कार्यालयमा पुगेर निवेदन दिनुपर्नेछ । त्यसपछि मासिक २० युनिटसम्मको न्यूनतम विद्युत् महसुल भुक्तानीका लागि विद्युत् कार्यालय धाउनुपर्ने छैन ।

नगरपालिकाले यस कार्यक्रमबाट नागरिकको आर्थिक भार कम हुनुका साथै सामान्य विद्युत् महसुल बुझाउनकै लागि समय र यातायात खर्च गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता हट्ने विश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top