होमपेज / समाज
सल्यान — नेपालीहरूको महान् चाड शुभ दीपावली, म्हः पूजा नेपाल संवत् ११४७ तथा छठ पर्वलाई सुरक्षित र शान्तिपूर्ण रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय सल्यानले विशेष अनुरोध गरेको छ।
कार्यालयले सूचना जारी गर्दै चाडपर्वको अवसरमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण, दुर्घटना न्यूनीकरण तथा जोखिम कम गर्न विभिन्न कार्य नगर्न र नगराउन आग्रह गरेको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार पटका, आतिसबाजी, भुइँचम्पा, बारुदलगायत प्रज्वलनशील तथा विस्फोटक पदार्थको उत्पादन, ओसारपसार, बिक्री वितरण र प्रयोग गर्न निषेध गरिएको छ।
त्यस्तै, चाडपर्वको बहानामा जुवातास, कौडा तथा हारजित हुने कुनै पनि प्रकारका बाजी वा सट्टेबाजीजन्य गतिविधि नगर्न प्रशासनले आग्रह गरेको छ।
कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, मूल्यवृद्धि गर्ने तथा म्याद नाघेका र गुणस्तरहीन वस्तु बिक्री वितरण गर्नेलाई कानुनअनुसार कारबाही हुने चेतावनी दिइएको छ। मदिरा तथा लागुऔषध सेवन गरी सार्वजनिक स्थानमा होहल्ला र झैझगडा नगर्न पनि प्रशासनले अनुरोध गरेको छ।
चाडपर्वका बेला सडक दुर्घटनाको जोखिम उच्च हुने भएकाले मुख्य तथा सहायक सडकमा विशेष सतर्कता अपनाउन भनिएको छ। सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, क्षमताभन्दा बढी मालसामान नबोक्न, मादक पदार्थ वा लागुऔषध सेवन गरी सवारी नचलाउन र तोकिएको भाडादरभन्दा बढी भाडा नलिन प्रशासनले आग्रह गरेको छ।
दिउँसी, भैलो तथा चाडपर्व लक्षित मेला, महोत्सव, प्रतियोगिता र मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्दा सामाजिक सद्भावमा असर नपर्ने गरी मर्यादित र व्यवस्थित बनाउनुपर्ने सूचनामा उल्लेख छ। यस्ता कार्यक्रम बेलुकी अधिकतम १० बजेसम्म मात्र सञ्चालन गर्न भनिएको छ।
जिल्ला प्रशासन कार्यालयले कुनै अवाञ्छित गतिविधि हुन लागेको वा भएको थाहा पाएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको आकस्मिक नम्बर १०० मा जानकारी दिन पनि जिल्लावासीलाई अनुरोध गरेको छ।
प्रशासनले सूचनाविपरीतका गतिविधि गरे वा गराएमा प्रचलित कानुनबमोजिम कारबाही हुने जनाएको छ।





.jpg)