होमपेज / समाज
सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४ गर्चेमा नवनिर्मित सुविधा सम्पन्न वडा कार्यालय भवन उद्घाटन गरिएको छ। नवनिर्मित भवनको नगर प्रमुख कर्णबहादुर बुढाथोकीले उद्घाटन गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको करिब ९ वर्षपछि गर्चेमा सुविधा सम्पन्न प्रशासनिक भवनबाट वडा कार्यालयको सेवा सञ्चालनमा आएको बताउनुभयो। उहाँले आफ्नो कार्यकालमा नगरपालिकाका १० वटै वडा कार्यालयका भवन निर्माण तथा उद्घाटन गर्न सफल भएको उल्लेख गर्नुभयो।
नगर प्रमुख बुढाथोकीले प्रशासनिक भवन निर्माणलाई प्राथमिकतामा राखेर काम गरिएको बताउँदै वडा कार्यालयसँगै विद्यालय भवनलगायत अन्य आवश्यक पूर्वाधार निर्माणमा समेत नगरपालिकाले ध्यान दिएको बताउनुभयो। आगामी दिनमा नगरको प्रशासनिक सेवा तथा विकास निर्माणलाई थप प्रभावकारी र व्यवस्थित ढंगले अघि बढाउने उहाँले प्रतिबद्धता जनाउनुभयो।
नवनिर्मित वडा कार्यालय भवन ९७ लाख ५ हजार रुपैयाँ (भ्याटसहित) लागत अनुमानमा टेन्डर भएको थियो। भवन निर्माणका लागि शिव शक्ति प्रिज्म, बाँकेसँग ६३ लाख १५ हजार रुपैयाँमा सम्झौता गरिएकोमा हालसम्म ६० लाख ५० हजार रुपैयाँ भुक्तानी भएको जनाइएको छ।
नवनिर्मित भवनमा सेवाग्राहीलाई सहज हुने गरी ६ वटा कोठा र शौचालयसहितका आवश्यक संरचना निर्माण गरिएको छ। नयाँ भवनबाट वडा कार्यालयका प्रशासनिक सेवा थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा नगर प्रमुख कर्णबहादुर बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी, वडा नं. ५ का अध्यक्ष पिपर खत्री, वडा नं. ६ का अध्यक्ष गणेश बीसी, वडा सदस्य, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, शिक्षक तथा स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता वडा नं. ४ का अध्यक्ष पुष्कर बुढाले गर्नुभएको थियो। कार्यक्रम सञ्चालन वडा सचिव नवीन विष्टले गर्नुभएको थियो भने वडा सदस्य देवबहादुर रानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।





.jpg)