ट्रेण्डिङ

होमपेज / समाज

बनगाड कुपिण्डे नगरपालिकाको वार्षिक समीक्षा तथा आगामी योजना तर्जुमा गोष्ठी सम्पन्न

  इन्द्र बुढाथोकी २०८३ भाद्र १० गते बुधबार ०६:३०:४४ मा प्रकाशित

सल्यान । बनगाड कुपिण्डे नगरपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका जनस्वास्थ्य कार्यक्रमको पालिकास्तरीय वार्षिक समीक्षा तथा आगामी योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ।

दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाले वर्षभरि सञ्चालन गरेका जनस्वास्थ्य कार्यक्रम, सेवा प्रवाहको अवस्था, उपलब्धि, समस्या तथा चुनौतीबारे समीक्षा गरिएको थियो। साथै आगामी आर्थिक वर्षमा स्वास्थ्य सेवालाई थप प्रभावकारी, पहुँचयोग्य र गुणस्तरीय बनाउन आवश्यक योजना तथा रणनीतिबारे छलफल गरिएको थियो।

गोष्ठीका क्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्थालाई सम्मानसमेत गरिएको छ। नगरवासीलाई सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरेको आधारमा स्वास्थ्य चौकीतर्फ बाँझकोट स्वास्थ्य चौकी प्रथम र घाँजरीपिपल स्वास्थ्य चौकी द्वितीय भएका छन्।

 आधारभूत स्वास्थ्य सेवा केन्द्रतर्फ आपचौर उत्कृष्ट घोषित भएको छ। मातृ तथा शिशु स्वास्थ्य क्षेत्रमा गर्भवती तथा प्रसूति सेवातर्फ उल्लेखनीय कार्य गरेको भन्दै शहरी स्वास्थ्य सेवा केन्द्र ढोरपिपललाई पनि उत्कृष्ट संस्थाका रूपमा सम्मान गरिएको छ।
कार्यक्रमको समापनमा बोल्दै बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख कर्णबहादुर बुढाथोकीले विगतको तुलनामा नगरपालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार हुँदै गएको बताउनुभयो। स्वास्थ्य क्षेत्रमा हासिल भएका उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रवाहका लागि योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।

समीक्षा गोष्ठीमा विगत वर्षमा भएका उपलब्धि, सिकाइ तथा चुनौतीको समीक्षा गर्दै आगामी दिनमा नगरवासीलाई सहज, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा स्पष्ट रणनीति तय गरिएको जनाइएको छ। उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्थालाई सम्मानले स्वास्थ्यकर्मी तथा संस्थालाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा नगर उपप्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी, वडा अध्यक्षहरू तथा नगरपालिकाअन्तर्गतका १८ वटा स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

गोष्ठीले स्वास्थ्य क्षेत्रमा भएका उपलब्धिको मूल्याङ्कनसँगै देखिएका समस्या र चुनौती पहिचान गरी आगामी आर्थिक वर्षका लागि आवश्यक योजना निर्माण गर्न सहयोग पुगेको आयोजकले जनाएको छ। साथै, स्वास्थ्य संस्थाबीचको समन्वय र अनुभव आदानप्रदानमार्फत नगरपालिकाको स्वास्थ्य सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top