ट्रेण्डिङ

होमपेज / शिक्षा

शारदा नगरपालिकाले शिक्षक बैंक सञ्चालनमा ल्याउँदै

  सल्यान खबर डेस्क २०८३ मंसिर १३ गते शनिबार १९:११:२१ मा प्रकाशित

सल्यान। सामुदायिक विद्यालयमा शिक्षक अभावका कारण विद्यार्थीको पठनपाठन प्रभावित हुन नदिन सल्यानको शारदा नगरपालिकाले ‘शिक्षक बैंक’ सञ्चालनमा ल्याएको छ। विद्यालयमा शिक्षक बिदामा बस्दा वा दरबन्दी रिक्त हुँदा तत्काल योग्य शिक्षक उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले शिक्षक बैंकको अवधारणा कार्यान्वयनमा ल्याएको हो।

नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा शिक्षक अभावका कारण नियमित पठनपाठनमा समस्या नहोस् भन्ने उद्देश्यले शिक्षक बैंक सञ्चालन गरिएको नगरप्रमुख प्रकाश भण्डारीले जानकारी दिए।

विशेषगरी शिक्षकहरू विभिन्न कारणले बिदामा बस्दा, सुत्केरी बिदा, किरिया बिदा वा अन्य छोटो अवधिको बिदामा रहँदा तथा शिक्षक दरबन्दी रिक्त हुँदा विद्यार्थीको पढाइ प्रभावित हुने समस्या समाधान गर्न शिक्षक बैंक प्रभावकारी हुने उनकाे भनाइ छ।

नगरप्रमुख भण्डारीका अनुसार शिक्षक बैंकमार्फत विद्यालयमा शिक्षक आवश्यक परेको अवस्थामा तत्काल योग्य र दक्ष शिक्षक उपलब्ध गराइनेछ। यसले शिक्षक अभावका कारण कक्षा सञ्चालन प्रभावित हुने अवस्थाको अन्त्य गर्नुका साथै नयाँ शिक्षक नियुक्तिका लागि विज्ञापन र छनोट प्रक्रिया पूरा गर्न लाग्ने लामो समयसम्म विद्यार्थीको पठनपाठन नियमित राख्न सहयोग पुग्नेछ।

शारदा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख संगीता बुढाका अनुसार शिक्षक बैंकलाई पारदर्शी, निष्पक्ष र योग्यतामा आधारित प्रणालीका रूपमा अघि बढाइएको छ। यसले विद्यालयको आवश्यकताअनुसार शिक्षक व्यवस्थापन गर्न सहज हुने उनले बताए । 

शिक्षक नियुक्ति तथा व्यवस्थापन प्रक्रियालाई व्यवस्थित बनाउँदै शैक्षिक गुणस्तर सुधार गर्नु शिक्षक बैंकको अर्को महत्वपूर्ण उद्देश्य रहेको बुढाको भनाइ छ। योग्यताका आधारमा शिक्षक छनोट गरी जिम्मेवारी प्रदान गर्ने प्रणालीले सामुदायिक विद्यालयमा पठनपाठनको निरन्तरता कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top