ट्रेण्डिङ

होमपेज / शिक्षा

कुमाख गाउँपालिकाद्वारा विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान

  सल्यान खबर डेस्क २०८३ बैशाख १८ गते शुक्रबार १४:५१:३९ मा प्रकाशित

सल्यानको कुमाख गाउँपालिकाले सामुदायिक विद्यालयहरूको समायोजन, तह घटुवा तथा शिक्षक दरबन्दी मिलान गरेको छ। गाउँ शिक्षा समितिको २०८१ फागुन १५ गतेको निर्णयका आधारमा उक्त कार्य गरिएको प्रमुख प्रशासकीय अधिकृत भूपाल खड्काले जानकारी दिनुभयो।

पालिकाले जारी गरेको विवरणअनुसार करिब दुई दर्जनभन्दा बढी विद्यालयमा तह परिवर्तन गरिएको छ। कतिपय विद्यालयलाई कक्षा १–३ सम्म सीमित गरिएको छ भने केहीलाई बालविकास केन्द्रमा रूपान्तरण गरिएको छ। साथै केही विद्यालयलाई नजिकका अन्य विद्यालयमा समायोजन गरिएको पनि जनाइएको छ।

गाउँपालिकाले कक्षा १–३ सम्म सञ्चालन भएका छ वटा विद्यालयलाई बालविकासमा रूपान्तरण गरेको छ भने १–५ सम्म सञ्चालन भएका सात विद्यालयलाई १–३ मा झारेको छ। कक्षा १–८ सम्म पठनपाठन हुँदै आएका चार विद्यालयलाई १–५ मा झारिएको छ भने कक्षा १० सम्म रहेको एक विद्यालयलाई कक्षा ८ सम्म सीमित गरिएको छ। यसैगरी १–५ सम्मको एक विद्यालय र बालविकास सञ्चालन भएको अर्को एक विद्यालयलाई नजिकका विद्यालयमा समायोजन गरिएको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (ज) तथा विद्यालय समायोजन एवं एकीकरण कार्यान्वयन कार्यविधि, २०८० अनुसार पालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयहरूको तह घटुवा, समायोजन र शिक्षक दरबन्दी पुनः व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ।

सोही व्यवस्था अनुसार शिक्षक दरबन्दी मिलान अन्तर्गत विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरूलाई आवश्यकता र दरबन्दीका आधारमा अन्य विद्यालयमा सरुवा गरिएको छ। दरबन्दी मिलानपछि २४ जना शिक्षक तथा कार्यालय सहयोगीहरूको व्यवस्थापन गरिएको हो। समायोजन तथा तह घटुवा गरिएका विद्यालयहरूले कायम गरिएको तहसम्म मात्र विद्यार्थी भर्ना लिनुपर्ने व्यवस्था गरिएको छ। साथै दरबन्दी मिलान भएका शिक्षकहरूले पालिकाबाट पत्र बुझी तोकिएको विद्यालयमा अनिवार्य रूपमा हाजिर हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ।

गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार, स्रोतको प्रभावकारी उपयोग तथा विद्यालय व्यवस्थापनलाई व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top