ट्रेण्डिङ

होमपेज / शिक्षा

जन्मदिनको अवसरमा पूर्वविद्यार्थीद्वारा जनज्योति माविलाई घडी र शैक्षिक सामग्री सहयोग

  प्रकाश शर्मा २०८३ असार २१ गते आइतबार १०:०१:०६ मा प्रकाशित

सल्यानको दार्मा गाउँपालिका–३ स्थित श्री जनज्योति माध्यमिक विद्यालय, फारुलाचौरका पूर्वविद्यार्थी तथा समाजसेवी मोहन के.सी.ले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामग्री तथा भित्ते घडी सहयोग गर्नुभएको छ।

विद्यालयले सञ्चालन गरिरहेको "एक कक्षाकोठा, एक भित्ते घडी" अभियानअन्तर्गत के.सी.ले १८ वटा कक्षाकोठाका लागि भित्ते घडी, कार्यालयका लागि एक वटा भित्ते घडी र विद्यालयका लागि एक वटा डिजिटल भित्ते घडी प्रदान गर्नुभएको हो। साथै उहाँले विद्यालयमा अध्ययनरत ४८ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत वितरण गर्नुभएको विद्यालयले जनाएको छ।

विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहनुभएका के.सी.को सहयोगले विद्यालयमा समय व्यवस्थापन, अनुशासन तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ।

विद्यालयका अनुसार शिक्षा क्षेत्रमा गरिएको यस्तो सहयोग भौतिक सामग्री हस्तान्तरणमा मात्र सीमित नभई विद्यालयप्रतिको अपनत्व, सामाजिक उत्तरदायित्व र भावी पुस्ताप्रतिको समर्पणको उदाहरण हो। उहाँको योगदानले अन्य पूर्वविद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूलाई समेत विद्यालयको समग्र विकासमा सहयोग गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

विद्यालय परिवारले समाजसेवी तथा शिक्षाप्रेमी मोहन के.सी.लाई जन्मदिनको शुभकामना व्यक्त गर्दै विद्यालयप्रति देखाउनुभएको उदार सहयोगका लागि हार्दिक आभार प्रकट गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top