होमपेज / समाज
विवाहमा हुने फजुल खर्च घटाउँदै एक नवविवाहित जोडीले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। सल्यान जिल्ला दार्मा गाउँपालिका–१ सिमलपुर निवासी रोजकुमार शर्मा र दाङ तुलसीपुर–खाद्रे निवासी सुप्रिया गौतमले संयुक्त रूपमा अक्षयकोष स्थापना गरेका हुन्।
गत बैशाख ७ गते हिन्दु परम्परा अनुसार आफ्नै घरमा विवाह सम्पन्न गरेका उक्त जोडीले दार्मा गाउँपालिका–१ मा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालय, दार्माकोटमा ‘हजुरबुवा स्वर्गीय इन्द्रलाल उपाध्याय स्मृति अक्षयकोष २०८३’ स्थापना गरी विद्यालयलाई हस्तान्तरण गरेका छन्।
जोडीले १ लाख १ हजार १ सय ५१ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन्। समाजमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू अत्यधिक खर्चिलो बन्दै गएको अवस्थामा यस्ता अभ्यासले समाजलाई विकृतितर्फ लैजान सक्ने भन्दै आफूहरूले उदाहरणीय कार्य गरेको उनीहरूको भनाइ छ।
रोजकुमार शर्माले फजुल खर्च न्यूनीकरण गर्दै सामाजिक कार्यमा योगदान पुगोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक देवेन्द्र चन्दले यस्ता कार्यले विद्यार्थीहरूमा सकारात्मक सन्देश जाने र शैक्षिक गुणस्तर सुधारमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिरेन्द्र परियारले यस्ता उदाहरणीय कार्यले सामुदायिक विद्यालयप्रति समुदायको विश्वास बढाउने र विद्यार्थीलाई अझ मेहनत गर्न प्रेरित गर्ने बताउनुभयो।
उक्त अक्षयकोषबाट प्राप्त हुने वार्षिक ब्याज रकमबाट प्रत्येक शैक्षिक सत्रमा विद्यालयमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई नगद पुरस्कार वितरण गरिने जनाइएको छ। यसबाट विद्यार्थीहरूलाई सामुदायिक विद्यालयमा अध्ययन गर्न र प्रतिस्पर्धात्मक रूपमा उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिल्ने विश्वास लिइएको छ।





.jpg)