होमपेज / स्वास्थ्य
सल्यान, दार्मा । दार्मा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। “स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित आयोजित एक कार्यक्रमबीच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो।
दार्मा गाउँपालिका स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा दार्मा गाउँपालिकालाई सल्यान जिल्लाको नवौं पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिकाका रूपमा घोषणा गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख असवीर बुढाथोकीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि भएको बताउँदै यसको दिगोपनाका लागि सबै सरोकारवाला पक्षको निरन्तर सहयोग आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसी, उपाध्यक्ष जुना मल्ल, जिल्ला खोप समन्वय समिति सल्यानका संयोजक ताराप्रसाद रिजाल तथा गाउँपालिकाको सामाजिक विकास समितिकी संयोजक पुष्पाञ्जली मगरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
गाउँपालिकाअन्तर्गत रहेका ३ वटा स्वास्थ्य चौकी, ४ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, ५ वटा प्रसूति केन्द्र तथा १ वटा सामुदायिक स्वास्थ्य इकाईमार्फत सञ्चालन भएका १५ वटा खोप केन्द्रबाट ० देखि १५ महिनासम्मका ३६५ जना बालबालिकाले नियमित खोप सेवा प्राप्त गरेका छन्।
पूर्ण खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा कार्यरत ५४ जना स्वास्थ्यकर्मी तथा २७ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान रहेको जनाइएको छ। यसअघि गाउँपालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिसकिएको थियो।
दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले गर्नुभएको थियो।





.jpg)