ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सल्यानमा स्क्रब टाइफसको संक्रमण कायमै, एकै दिन २० जनामा पुष्टि

  सल्यान खबर डेस्क २०८३ आश्विन १६ गते शुक्रबार २०:५८:३८ मा प्रकाशित

सल्यानमा स्क्रब टाइफसको संक्रमण कायमै रहेको स्वास्थ्य सेवा व्यवस्थापनको तथ्यांकले देखाएको छ। स्वास्थ्य सेवा कार्यालय सल्यानले सार्वजनिक गरेको १९ गतेको रिपोर्टअनुसार सरकारी स्वास्थ्य संस्थामा ७७ जनाको स्क्रब टाइफस परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको छ। 

रिपोर्टअनुसार दार्मा गाउँपालिकामा ७ जनाको परीक्षण गर्दा ३ जना, कुमाख गाउँपालिकामा ३२ जनाको परीक्षण गर्दा ५ जना र बागचौर नगरपालिकामा १९ जनाको परीक्षण गर्दा ८ जनामा स्क्रब टाइफस संक्रमण देखिएको छ। यस्तै, बनगाड कुपिण्डे नगरपालिकामा ३ जनाको परीक्षण गर्दा २ जना र सल्यान जिल्ला अस्पतालमा ९ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ।

अन्य स्थानीय तहमा भने उक्त दिन गरिएको परीक्षणमा स्क्रब टाइफसको संक्रमण देखिएको छैन। तथ्यांकअनुसार कालीमाटी, छत्रेश्वरी, कपुरकोट, सिद्धकुमाख र शारदा क्षेत्रमा परीक्षण गरिएका नमुनामा संक्रमण पुष्टि नभएको देखिन्छ।

त्यस्तै, निजी स्वास्थ्य संस्थाबाट समेत ९ जनाको परीक्षण गरिएकोमा २ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको रिपोर्टमा उल्लेख छ। यससँगै उक्त दिन सरकारी तथा निजी स्वास्थ्य संस्थामा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुने संख्या थपिएको छ।यससँगै सल्यानमा स्क्रव टाइफस संक्रमितको संख्या  ५ सय ८८ पुगेको छ । 

पछिल्लो समय दार्मा गाउँपालिकामा स्क्रब टाइफसको संक्रमण उच्च देखिएपछि स्वास्थ्यकर्मीले प्रभावित क्षेत्रमा पुगेर परीक्षण, उपचार तथा सचेतना अभियान सञ्चालन गरिरहेका छन्। दार्मामा मात्रै संक्रमणका कारण सात जनाको मृत्यु भइसकेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।

स्वास्थ्यकर्मीका अनुसार स्क्रब टाइफस मुसामा पाइने किर्नाजस्तो देखिने माइट नामक परजीवीको टोकाइबाट मानिसमा सर्ने रोग हो। झाडी, घाँसे मैदान, खेतबारी तथा वनजंगलमा माइट पाइने भएकाले त्यस्ता क्षेत्रमा जाँदा शरीर ढाक्ने कपडा तथा जुत्ता प्रयोग गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।

ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, कमजोरी हुनेलगायतका लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। संक्रमण फैलिएका क्षेत्रमा परीक्षणको दायरा बढाउँदै रोग पहिचान, उपचार र रोकथामका गतिविधि सञ्चालन भइरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top