ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सल्यान अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन

  सल्यान खबर डेस्क २०८३ श्रावण ४ गते सोमबार १९:३३:३७ मा प्रकाशित

सल्यान। स्वास्थ्य सेवा कार्यालय, सल्यानले केही समयदेखि अवरुद्ध रहेको स्वास्थ्य बिमा अन्तर्गतका सम्पूर्ण सेवा पुनः सञ्चालन गरिएको जनाएको छ।

कार्यालयले जारी गरेको सूचनाअनुसार स्वास्थ्य बिमा बोर्डबाट प्राप्त हुनुपर्ने बिमा दाबी रकम समयमै भुक्तानी नहुनु तथा बोर्डले परिमार्जन गरेको सुविधा प्याकेजको न्यून दरका कारण सेवा सञ्चालनमा कठिनाइ उत्पन्न भएपछि केही समय स्वास्थ्य बिमा सेवा स्थगित गरिएको थियो।तर, स्वास्थ्य बिमा बोर्डको  परिमार्जित सुविधा प्याकेज लागू गरिएसँगै साउन ५ गतेदेखि स्वास्थ्य बिमा अन्तर्गतका सम्पूर्ण सेवा पुनः सुचारु गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।

कार्यालयले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध सबै सेवाग्राहीलाई आफ्नो स्वास्थ्य बिमा कार्ड साथमा लिएर अस्पतालमा आई निर्धक्क रूपमा उपचार सेवा लिन आग्रह गरेको छ। यससँगै विगत केही समयदेखि रोकिएका बिमा सम्बन्धी सबै सेवा अब नियमित रूपमा उपलब्ध हुने जनाइएको छ।

यद्यपि, अस्पताल फार्मेसीबाट स्वास्थ्य बिमा अन्तर्गत वितरण गरिने औषधि एक पटकमा अधिकतम एक महिनाका लागि मात्र उपलब्ध गराइने व्यवस्था यथावत रहने अस्पताल प्रशासनले स्पष्ट पारेको छ।

स्वास्थ्य सेवा कार्यालय सल्यानले स्वास्थ्य बिमा सेवाको निरन्तरतासँगै सेवाग्राहीलाई सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top