होमपेज / स्वास्थ्य
शारदा नगरपालिकाको आयोजनामा पाठेघर खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर परीक्षण तथा परिवार नियोजनसम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिकाले वडा नम्बर ११ हिवल्चास्थित स्वास्थ्य चौकी र वडा नम्बर १३ को स्यानिखाल स्वास्थ्य चौकीमा असोज २१ र २३ गते उक्त कार्यक्रम सञ्चालन गरेको हो।
कार्यक्रमअन्तर्गत दुवै स्वास्थ्य चौकीमा गरी ६३ जना महिलाको स्तन क्यान्सर परीक्षण गर्नुका साथै पाठेघर खस्ने समस्या तथा फिस्टुलासम्बन्धी जाँच गरिएको थियो। परीक्षणका क्रममा ९ जना महिलामा पाठेघर खस्ने समस्या देखिएको छ। तीमध्ये २ जनामा पहिलो डिग्री, ४ जनामा दोस्रो डिग्री र ३ जनामा तेस्रो डिग्रीको समस्या पाइएको छ।
समस्या देखिएका महिलामध्ये ४ जनालाई रिङ पेसरी राखिएको छ भने एक जनालाई थप उपचारका लागि माथिल्लो स्वास्थ्य संस्थामा प्रेषण गरिएको छ।
त्यसैगरी, ३६ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण (भीआईए) गरिएको थियो। परीक्षणका क्रममा २ जनामा क्यान्सरको जोखिम देखाउने नतिजा पोजेटिभ आएको र उनीहरूलाई थप उपचारका लागि माथिल्लो स्वास्थ्य संस्थामा पठाइएको छ। अन्य महिलाको परीक्षण नतिजा सामान्य रहेको जनाइएको छ।
कार्यक्रममा परिवार नियोजन सेवा अन्तर्गत लामो अवधिसम्म गर्भनिरोधक सेवा प्रदान गर्ने इम्प्लान्ट सेवासमेत सञ्चालन गरिएको थियो।शारदा नगरपालिका स्वास्थ्य शाखाका रविन विष्टका अनुसार महिलामा देखिने पाठेघर खस्ने समस्या तथा पाठेघरको मुखको क्यान्सरको समयमै पहिचान गरी आवश्यक उपचारको पहुँच सुनिश्चित गर्ने उद्देश्यले स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको हो। उहाँले महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी समस्या पहिचान, रोकथाम तथा उपचारमा सहज पहुँच पुर्याउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।
महिलाको प्रजनन स्वास्थ्य समस्याको समयमै पहिचान, रोकथाम तथा उपचारमा पहुँच बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। यस्ता स्वास्थ्य परीक्षणले पाठेघर खस्ने समस्या तथा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक पहिचान गरी समयमै उपचार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नगरपालिकाले महिलाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता स्वास्थ्य सेवा तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको जनाएको छ।





.jpg)