ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सल्यानको दार्मामा स्क्रब टाइफसको प्रकोप, ११४ जनामा संक्रमण पुष्टि

  सल्यान खबर डेस्क २०८३ आश्विन ७ गते बुधबार २०:३०:५२ मा प्रकाशित

सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको संक्रमण फैलिएको छ। संक्रमणका कारण सात जनाको मृत्यु भएपछि स्वास्थ्य सेवा कार्यालय सल्यान र जिल्ला द्रुत प्रतिकार्य टोली प्रभावित क्षेत्रमा पुगेर परीक्षण तथा उपचार शिविर सञ्चालन गरेका छन्।

दार्मा गाउँपालिकामा तीन दिनसम्म सञ्चालन गरिएको शिविरमा ५३२ जनाको प्रयोगशाला परीक्षण गर्दा ११४ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ। संक्रमणबाट गाउँपालिकाका वडा नम्बर १, ५ र ६ बढी प्रभावित भएका छन्।

संक्रमण फैलिँदै गएपछि स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा परिचालन गरी बिरामीको परीक्षण, उपचार तथा रोकथामका उपाय अघि बढाइएको छ। स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालका अनुसार बिरामीको संख्या बढ्दै गएपछि कर्णाली प्रदेश सरकारसँग समन्वय गरी परीक्षण किट, औषधि र स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा पठाइएको छ।

उहाँका अनुसार संक्रमणको अवस्था हेर्दा तत्काल थप परीक्षण किट आवश्यक देखिएको छ। हालसम्म प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रबाट २०० र स्वास्थ्य सेवा कार्यालय सल्यानबाट २५० गरी ४५० वटा स्क्रब टाइफस परीक्षण किट दार्मा पठाइएको छ। तर प्रकोपको अवस्था हेर्दा तत्काल कम्तीमा थप १ हजार परीक्षण किट आवश्यक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

स्क्रब टाइफसको संक्रमण बढेपछि संघीय तथा प्रदेश सरकारले प्रभावित क्षेत्रमा परीक्षण किट र आवश्यक औषधि पठाएका छन्। परीक्षणको दायरा बढाउनुका साथै संक्रमितको उपचार र संक्रमण फैलिन नदिन रोकथामका गतिविधि सञ्चालन भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

यसैबीच, सल्यानका कालीमाटी र कुमाख गाउँपालिका तथा बागचौर नगरपालिकाले समेत स्क्रब टाइफस परीक्षण किट माग गरेका छन्। जिल्लाका अन्य क्षेत्रमा समेत संक्रमण फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले जोखिमयुक्त क्षेत्रमा परीक्षण तथा निगरानी बढाउने तयारी गरेको छ।

स्वास्थ्यकर्मीहरूले ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, अत्यधिक कमजोरी हुनेलगायतका लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन आग्रह गरेका छन्। विशेषगरी संक्रमित क्षेत्रका नागरिकलाई स्वास्थ्यसम्बन्धी सावधानी अपनाउन र चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top