ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

विशेषज्ञ चिकित्सक अभावले सल्यान जिल्ला अस्पतालको शल्यक्रिया सेवा ठप्प

  सल्यान खबर डेस्क २०८३ असार २८ गते आइतबार २०:१८:३८ मा प्रकाशित

सल्यान जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावका कारण सिजेरियनसहित विभिन्न प्रकारका शल्यक्रिया सेवा प्रभावित भएका छन्। अस्पतालले सार्वजनिक सूचना जारी गर्दै एमडीजीपी (MDGP) तथा स्त्रीरोग तथा प्रसूति विशेषज्ञ (Gynecologist) चिकित्सकको पद रिक्त रहेकाले शल्यक्रिया सेवा सञ्चालन गर्न नसकिएको जनाएको हो।

अस्पतालका अनुसार विशेषज्ञ चिकित्सकको अभावका कारण सिजेरियन शल्यक्रिया (C/S), हिस्टेरेक्टोमीसहित स्त्रीरोगसम्बन्धी शल्यक्रिया, एपेन्डिसाइटिस, हर्नियालगायतका सामान्य शल्यक्रिया तथा अन्य आवश्यक शल्यक्रिया सेवा हाल सञ्चालन हुन सकेका छैनन्।

सेवा अवरुद्ध भएपछि विशेषगरी आकस्मिक शल्यक्रिया आवश्यक पर्ने बिरामी तथा सुरक्षित प्रसूति सेवा आवश्यक भएका गर्भवती महिलाहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। उपचारका लागि बिरामीलाई सुर्खेत, नेपालगञ्ज तथा अन्य जिल्ला र प्रदेशका अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार यसबाट बिरामी र उनीहरूका परिवारले लामो दूरीको यात्रा गर्नुपर्ने, बसोबास तथा उपचारमा अतिरिक्त आर्थिक भार व्यहोर्नुपर्ने, समयमै उपचार नपाउँदा स्वास्थ्य जटिलता बढ्ने जोखिम रहने तथा मानसिक तनावसमेत झेल्नुपर्ने अवस्था सिर्जना भएको छ।

जिल्ला अस्पतालले जिल्लावासीलाई सहज, गुणस्तरीय र समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित निकायसँग एमडीजीपी र स्त्रीरोग तथा प्रसूति विशेषज्ञ चिकित्सकको शीघ्र व्यवस्था गरिदिन आग्रह गरेको छ। विशेषज्ञ चिकित्सकको व्यवस्था भएपछि शल्यक्रिया सेवा पुनः नियमित रूपमा सञ्चालन गरिने अस्पतालले जनाएको छ।

अस्पतालले सेवा पुनः सञ्चालन नहुन्जेल शल्यक्रिया आवश्यक पर्ने बिरामीलाई आवश्यक परामर्शसहित उच्चस्तरीय स्वास्थ्य संस्थामा रिफर गरिने जानकारी दिएको छ। आकस्मिक स्वास्थ्य समस्या देखिएमा समयमै नजिकको स्वास्थ्य संस्था वा रिफर गरिएका अस्पतालमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।

सल्यान जिल्ला अस्पताल जिल्लाको प्रमुख सरकारी स्वास्थ्य संस्था भए पनि विशेषज्ञ चिकित्सक अभावका कारण पछिल्लो समय विशेष सेवा प्रभावित हुँदै आएको छ। स्थानीयवासीले विशेषज्ञ चिकित्सकको शीघ्र व्यवस्थापन गरी जिल्लामै शल्यक्रिया तथा सुरक्षित प्रसूति सेवा पुनः सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा खबर
Top