होमपेज / अर्थ
सल्यान, असार २१ दार्मा गाउँपालिका–३ फारुलाचौरस्थित श्री जनज्योति माध्यमिक विद्यालयले विद्यार्थीको सुरक्षा तथा आकस्मिक जोखिम व्यवस्थापनलाई प्राथमिकता दिँदै दुर्घटना बीमा कार्यक्रम सञ्चालन गरेको छ।
विद्यालयले पहिलो चरणमा अध्ययनरत ४७८ जना विद्यार्थीलाई प्रति विद्यार्थी १ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरेको जनाएको छ। यसका लागि प्रति विद्यार्थी १५० रुपैयाँ बीमा शुल्क संकलन गरिएको विद्यालयले जानकारी दिएको छ।
विद्यालयका अनुसार आकस्मिक दुर्घटनाको अवस्थामा विद्यार्थी तथा उनीहरूका परिवारलाई आर्थिक राहत उपलब्ध गराउने उद्देश्यले बीमा कार्यक्रम सञ्चालन गरिएको हो। यस कार्यक्रमले विद्यार्थीको सुरक्षा सुनिश्चित गर्नुका साथै अभिभावकमा विद्यालयप्रतिको विश्वास थप मजबुत हुने अपेक्षा गरिएको छ।
विद्यालयले आफ्ना छोराछोरीको दुर्घटना बीमा गराई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अभिभावकप्रति आभार व्यक्त गरेको छ। साथै, कार्यक्रमको समन्वय, सहजीकरण तथा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेको इन्स्योरेन्स सल्यान शाखाका कार्यालय प्रमुख तथा विद्यालयका पूर्वविद्यार्थी नारायण दाहाल लगायत सम्पूर्ण नेको इन्स्योरेन्स परिवारलाई विशेष धन्यवाद ज्ञापन गरेको छ।
पहिलो चरणमा विभिन्न कारणले बीमा गर्न छुटेका विद्यार्थीका अभिभावकलाई यथाशीघ्र बीमा प्रक्रियामा सहभागी गराउन विद्यालयले अनुरोध गरेको छ। विद्यालयका अनुसार सानो रकमको बीमाले आकस्मिक दुर्घटनाका बेला विद्यार्थी र परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने भएकाले सबै विद्यार्थीलाई बीमाको पहुँचमा ल्याउने अभियानलाई निरन्तरता दिइनेछ।
विद्यालय प्रशासनले विद्यार्थीको सुरक्षा, कल्याण र गुणस्तरीय शैक्षिक वातावरण निर्माणका लागि आगामी दिनमा पनि यस्ता विद्यार्थीमुखी कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।





.jpg)