ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानमा एउटै पालिकाबाट साढे करोड बढीको खसी बिक्री

  सल्यान खबर डेस्क २०८३ असार ३० गते मंगलबार १४:०६:१२ मा प्रकाशित

 असार ३० ,सल्यान 

सल्यानको त्रिवेणी गाउँपालिकाले कृषकको उत्पादनलाई बजारीकरण गर्न सञ्चालन गरेको अनुदान कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाभित्रका विभिन्न सहकारी संस्थामार्फत गत आर्थिक वर्षमा मात्रै ४ करोड ७० लाख ७५ हजार ७ सय ६६ रुपैयाँ ५० पैसा बराबरको ९८ हजार २३ किलो बराबरको खसी बिक्री भएका छन् । 

गाउँपालिकाको कृषि उत्पादन बजारीकरण अनुदान कार्यक्रमअन्तर्गत ५ वटा सहकारी संस्था मार्फत ८ सय ७८ जना कृषकका २ हजार५ सय ८० वटा खसी बिक्री भएको त्रिवेणी गाउँपालिका पशु सेवा शाखाले जनाएको छ । गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न प्रतिकिलो १२ रुपैयाँका दरले ९ लाख ३३ हजार ५ सय १६ रुपैयाँ अनुदान उपलब्ध गराएको छ । यस्तै, व्यवस्थापन खर्चबापत प्रतिकिलो ५० पैसाका दरले ३८ हजार ८ सय ९६ रुपैयाँ खर्च गरिएको पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिनु भयो ।  यस कार्यक्रमका लागि गाउँपालिकाले कुल ९ लाख ७२ हजार४ सय १२ रुपैयाँ बजेट खर्च गरेको उहाँको भनाई छ । 

गाउँपालिकाले सञ्चालन गरेको बजारीकरण अनुदान कार्यक्रमले कृषकलाई उत्पादनको सुनिश्चित बजार उपलब्ध गराउनुका साथै उचित मूल्य दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको रावतको भनाई छ ।  सहकारीमार्फत बिक्री प्रणाली अपनाइएकाले बजार व्यवस्थापन सहज हुनुका साथै बिचौलियाको प्रभाव समेत कम भएको उहाँको भनाई छ । 

स्थानीय सरकारले कृषि तथा पशुपालनलाई आयआर्जनको मुख्य आधारका रूपमा विकास गर्ने नीति अनुरूप सञ्चालन गरेको यो कार्यक्रमले गाउँपालिकामा व्यावसायिक बाख्रा पालन विस्तार गर्न थप टेवा पुगेको गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले बताउनु भयो । कृषकहरूले आगामी वर्षहरूमा पनि यस्ता अनुदान तथा बजारीकरणका कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको उहाँको भनाई छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा खबर
Top