ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानको कालिमाटी गाउँपालिकाले ल्यायो ५३ करोड बढीको बजेट

  सल्यान खबर २०८३ असार २२ गते सोमबार १८:४२:०४ मा प्रकाशित

सल्यान, असार २२ । एक समय सल्यान जिल्लाकै विकट र विकासका दृष्टिले पछाडि परेको क्षेत्रको रूपमा परिचित कालिमाटी गाउँपालिकाले विकासको गतिलाई थप तीव्र बनाउने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५३ करोड ४५ लाख ३० हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।

गाउँपालिका अध्यक्ष दानबहादुर केसी मोटरसाइकल दुर्घटनामा घाइते भएपछि असार १० गतेका लागि तय गरिएको २०औँ गाउँसभा स्थगित भएको थियो। उपचारपछि अध्यक्ष केसी गाउँपालिकामा फर्किएसँगै सोमबार बसेको गाउँसभाले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी, पर्यटन, डिजिटल सेवा र सुशासनलाई प्राथमिकतामा राख्दै आगामी वर्षको विकासको मार्गचित्र तय गरेको हो।

गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले स्थानीय तह स्थापना हुँदा कालिमाटीलाई जिल्लाकै विकट क्षेत्रका रूपमा चिनिने गरेको स्मरण गर्दै पछिल्ला वर्षहरूमा गाउँपालिकाले उल्लेखनीय परिवर्तन हासिल गरेको बताउनुभयो। उहाँले सडक सञ्जाल विस्तार, विद्युत् पहुँच, खानेपानी, शिक्षा, स्वास्थ्य, सञ्चार, सिँचाइ, कृषि, पशुपालन, पर्यटन तथा अन्य पूर्वाधार विकासका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गर्नुभयो।

"हामीले धेरै उपलब्धि हासिल गरेका छौँ, तर अझै धेरै काम गर्न बाँकी छ," अध्यक्ष केसीले भन्नुभयो, "हालसम्मको विकास यात्रामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान गर्ने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज, विकास साझेदार, सञ्चारकर्मी तथा गाउँपालिकावासीप्रति म हार्दिक आभार व्यक्त गर्दछु।"

गाउँसभामा उपाध्यक्ष शनसिल्ता वली डिसीले आर्थिक वर्ष २०८३/८४ को बजेट तथा आर्थिक ऐन प्रस्तुत गर्नुभएको थियो भने वडा नं. ५ का वडा अध्यक्ष टोपबहादुर कार्कीले नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो। विस्तृत छलफल तथा आवश्यक संशोधनपछि सबै प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको गाउँसभा सचिव तथा प्रमुख प्रशासकीय अधिकृत हर्कबहादुर वलीले जानकारी दिनुभयो।

पारित बजेटअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ११ करोड २२ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट १४ करोड ७२ लाख ३९ हजार रुपैयाँ, समपूरक अनुदानबाट १ करोड ९३ लाख रुपैयाँ तथा सशर्त अनुदानबाट १८ करोड ७५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यसैगरी, कर्णाली प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ३३ लाख २८ हजार रुपैयाँ, राजस्व बाँडफाँट २१ लाख ११ हजार रुपैयाँ, सशर्त अनुदान २ करोड ३ लाख ५२ हजार रुपैयाँ, समपूरक अनुदान १ करोड १८ लाख रुपैयाँ र विशेष अनुदान ५० लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। गाउँपालिकाले आन्तरिक राजस्वबाट ५७ लाख रुपैयाँ संकलन गर्ने तथा बैंक मौज्दातबाट १ करोड रुपैयाँ उपयोग गर्ने लक्ष्य पनि राखेको छ।

गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि र व्यवसायीकरण, खानेपानी तथा सिँचाइ विस्तार, गुणस्तरीय शिक्षा, प्रभावकारी स्वास्थ्य सेवा, सडक तथा पुल निर्माण, रोजगार सिर्जना, पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, डिजिटल सेवा विस्तार, सुशासन तथा सामाजिक सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको छ।

यसैगरी गाउँसभाले न्यायिक समिति, सामाजिक विकास समिति तथा अन्य विषयगत समितिहरूले प्रस्तुत गरेका वार्षिक प्रतिवेदनहरू पनि पारित गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत यज्ञबहादुर खत्रीले जानकारी दिनुभयो।

स्थानीय सरकार सञ्चालनको नौ वर्षको अवधिमा आधारभूत पूर्वाधार विस्तार र सेवा प्रवाहमा उल्लेखनीय सुधार गरेको कालिमाटी गाउँपालिकाले आगामी वर्षको बजेटमार्फत विकासको यात्रालाई थप तीव्र बनाउने लक्ष्य लिएको छ। गाउँसभाबाट पारित योजना तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन सके कालिमाटीको 'विकट' भन्ने पुरानो पहिचान क्रमशः 'विकास'को नयाँ परिचयमा रूपान्तरण हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा खबर
Top