होमपेज / शिक्षा
सल्यान पश्चिमस्थित त्रिभुवन जनता माध्यमिक विद्यालय, शंखपिपल च्युराको विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएको छ। विद्यालय स्थापना भएको ५१ वर्षपछि पहिलोपटक महिला अध्यक्षको नेतृत्वमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको हो।
विद्यालयमा आज सम्पन्न अभिभावक तथा सरोकारवालाहरूको भेलाबाट हेमन्ती विष्टको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको विद्यालयले जनाएको छ।
नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष हेमन्ती विष्टसहित हेमा भट्टराई, शान्ता साहु, सुमित्रा राना, डम्बर राना र रुपसिं परियार सदस्य रहेका छन्। यस्तै सम्बन्धित वडाका अध्यक्ष पिउपर खत्री पदेन सदस्य, गंगानाथ बस्नेत शिक्षक प्रतिनिधि सदस्य तथा प्रशान्त सुनार सदस्य–सचिव रहेका छन्।
विद्यालयका अनुसार २०३२ सालमा स्थापना भएको यस विद्यालयले पाँच दशकभन्दा लामो इतिहासमा पहिलोपटक महिला नेतृत्व प्राप्त गरेको हो। विद्यालयको शैक्षिक गुणस्तर सुधार, व्यवस्थापन सुदृढीकरण तथा विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्न नयाँ समितिले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यसैबीच, आज नै नन्दा रानाको अध्यक्षतामा ११ सदस्यीय शिक्षक–अभिभावक संघ समेत गठन गरिएको छ। शिक्षक, अभिभावक र विद्यालयबीच समन्वय तथा सहकार्य बढाउँदै विद्यालयको समग्र शैक्षिक वातावरण सुधारमा संघले भूमिका खेल्ने अपेक्षा गरिएको विद्यालयले जनाएको छ।
विद्यालयले नवनिर्वाचित विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघका पदाधिकारी एवं सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।





.jpg)