होमपेज / खेलकुद
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ देवस्थल राताचौरमा सञ्चालित २१औँ श्रीकृष्ण जन्माष्टमी कप–२०८३ खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि रोयल अम्रा बिष्ट क्लबले जितेको छ।
रिभर टाउन स्पोर्ट्स क्लबको आयोजनामा पञ्चमी मेलाको अवसरमा सञ्चालन भएको प्रतियोगिताको फाइनलमा रोयल अम्रा बिष्ट क्लब र सुर्खेतको सिम्ता एफसीबीच प्रतिस्पर्धा भएको थियो। निर्धारित समयमा दुवै टोलीले बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा सिम्ता एफसीलाई पराजित गर्दै रोयल अम्रा बिष्ट क्लब च्याम्पियन बनेको हो।
पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहेको खेलकुद संयोजक गोपाल बुढाले जानकारी दिनुभयो।
उपाधि विजेता रोयल अम्रा बिष्ट क्लबले नगद १ लाख १५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता सिम्ता एफसीले ६९ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
यसैबीच, नजिकिँदै गरेको हरितालिका तीजको अवसरमा प्रतियोगितासँगै खुला नृत्य प्रतियोगितासमेत आयोजना गरिएको थियो। खेलकुदसँगै कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नृत्य प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको समापन समारोह बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख कर्णबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नगर उपप्रमुख पुरुषोत्तम आचार्य, विभिन्न वडाका अध्यक्ष तथा जनप्रतिनिधि, खेलाडी, खेलप्रेमी, समाजसेवी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
समापन कार्यक्रममा खेलकुद, कला र संस्कृतिको संगम देखिएको थियो। प्रतियोगिता सफल बनाउन सहयोग गर्ने खेलाडी, रेफ्री, सहयोगी संस्था, दर्शक, स्थानीयवासी तथा शुभेच्छुकलाई रिभर टाउन स्पोर्ट्स क्लबका अध्यक्ष हिरालाल परियारले धन्यवाद व्यक्त गर्नुभएको छ।





.jpg)