होमपेज / खेलकुद
सल्यानमा सञ्चालित जिल्लास्तरीय १६औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि शारदा नगरपालिकाले हात पारेको छ। बनगाड कुपिण्डे नगरपालिका– १ राताचौरमा सम्पन्न १६औं राष्ट्रपति रनिङ शिल्डको उपाधि उचालेसँगै शारदा नगरपालिकाले लगातार दुईपटक उपाधि उचाल्न सफल भएको हो।
शारदाले १२ स्वर्ण, १० रजत र ६ कास्य गरी जम्मा २८ पदक जित्दै उपाधि हात पार्न सफल भएको छ। यस्तै ८ स्वर्ण, ४ रजत र ७ कास्यसहित १९ पदक हात पारेर छत्रेश्वरी गाउँपालिका दोस्रो भएको छ। ७ स्वर्ण, ६ रजत र १५ कास्य गरी ३२ पदकसहित बनगाड कुपिण्डे नगरपालिका तेस्रो भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खड्क प्रसाद आचार्यले जानकारी दिए।
५ स्वर्ण, ६ रजत ११ कास्य गरी ११ पदकसहित बागचौर नगरपालिका चौथो, ६ स्वर्ण, ६ रजत र ७ कास्य गरी १९ पदकसहित कपुरकोट गाउँपालिका पाँचौं, ५ स्वर्ण, ८ रजत र १० कास्य गरी २३ पदकसहित दार्मा गाउँपालिका छैटौं भएको छ। यसैगरी ४ स्वर्ण, ३ रजत र १ कास्य गरी ८ पदकसहित कालिमाटी गाउँपालिका सातौं, ४ स्वर्णसहित त्रिवेणी गाउँपालिका आठौं, १ स्वर्ण, ९ रजत र ६ कास्य गरी १६ पदकसहित कुमाख गाउँपालिका नवौं र १ स्वर्ण, २ रजत र १० कास्य गरी १३ पदकसहित सिद्ध कुमाख दसौं स्थानमा रहेका छन्।
५४ स्वर्ण, ५४ रजत र ७७ कास्य गरी १८५ पदकका लागि दश स्थानीय तहबाट ८ सय बढी प्रतियोगीको सहभागिता थियो। प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई सम्मान समेत गरिएको छ।प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, मार्सल आर्टलगायत विभिन्न खेल विधामा प्रतिस्पर्धा गराइएको आचार्यले जानकारी दिनुभयो ।





.jpg)