होमपेज / शिक्षा
राम प्रसाद शर्मा, साउन २५,सल्यान।
सल्यानको दार्मा गाउँपालिका–३ फारुलाचौरस्थित श्री जनज्योति माध्यमिक विद्यालयमा आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीको शैक्षिक यात्रामा सहयोग पुर्याउने उद्देश्यले ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ।
राप्ती समाज यू.के. सी.आई.सी.को पहलमा विद्यालयमा अक्षयकोष स्थापना गरिएको हो। अक्षयकोषका लागि प्राप्त ३ लाख रुपैयाँ विशेष कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको छ।
विद्यालयका अनुसार आर्थिक अभावका कारण शिक्षाको अवसरबाट पछि पर्न सक्ने विद्यार्थीलाई निरन्तर अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो। अक्षयकोषबाट प्राप्त रकमको ब्याज तथा आम्दानीलाई विपन्न तथा जेहेन्दार विद्यार्थीको शैक्षिक आवश्यकता पूरा गर्न प्रयोग गरिने जनाइएको छ।
विद्यालयमा आयोजित विशेष कार्यक्रममा राप्ती समाज यू.के.का पूर्वअध्यक्ष हिक्मत सिंह थापाले उक्त रकम विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो।
अक्षयकोष स्थापनाले आर्थिक अभावका कारण अध्ययनमा समस्या भोगिरहेका विद्यार्थीलाई ठूलो सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक मिनराज वलीले जानकारी दिनु भयो । यस सहयोगले विद्यार्थीमा थप आशा, उत्साह र आत्मविश्वास बढ्ने विश्वास व्यक्त गर्नु भयो ।
शिक्षामा गरिएको यो सहयोग रकममा मात्र सीमित नभई विपन्न विद्यार्थीको भविष्यप्रतिको भरोसा, शिक्षाप्रतिको प्रतिबद्धता र सामाजिक उत्तरदायित्वको उदाहरण भएको विद्यालयको भनाइ छ।
विद्यालय परिवारले अक्षयकोष स्थापनाका लागि सहयोग गर्ने राप्ती समाज यू.के. सी.आई.सी. परिवार, पूर्वअध्यक्ष हिक्मत सिंह थापा तथा सम्पूर्ण सहयोगी मनहरूप्रति आभार तथा कृतज्ञता व्यक्त गरेको छ।
विद्यालयले आगामी दिनमा पनि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययनमा निरन्तरता दिन यस्ता सहयोग र कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ।





.jpg)