ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा सार्वजनिक यातायात सञ्चालनमा कडाइ, १० बुँदे सुरक्षा व्यवस्था लागू

  सल्यान खबर २०८३ आश्विन १६ गते शुक्रबार २०:३६:०४ मा प्रकाशित

यात्रु तथा सवारी साधनको सुरक्षा र सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय सल्यानले सार्वजनिक यातायात सञ्चालनमा थप कडाइ गरेको छ। लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्दा यातायात व्यवसायी, चालक, कर्मचारी तथा यात्रुले अनिवार्य रूपमा पालना गर्नुपर्ने १० बुँदे व्यवस्था सार्वजनिक गरिएको हो।

जिल्ला प्रशासन कार्यालयले नेपाल सरकार, यातायात व्यवस्था विभागको बैठकको निर्णय तथा गृह मन्त्रालयको कार्यादेशअनुसार जिल्लाभित्रका विभिन्न राजमार्ग तथा सडक आसपास क्षेत्रमा सञ्चालन हुने यातायात सेवाका लागि सुरक्षा व्यवस्था लागू गरेको जनाएको छ।

नयाँ व्यवस्थाअनुसार सार्वजनिक यातायात सेवा प्रदायकले मध्यम तथा लामो दूरीका सवारी साधनमा अग्रिम टिकट बुकिङको व्यवस्था निरन्तर गर्नुपर्नेछ। यातायात व्यवसायीले टिकट बिक्रीका लागि व्यवस्थित अनलाइन बुकिङको व्यवस्था मिलाउनुका साथै यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्नुपर्नेछ।

त्यस्तै, टिकट जारी गर्ने कर्मचारीका लागि सम्बन्धित यातायात व्यवसायी, कम्पनी वा संस्थाले अनिवार्य परिचयपत्र उपलब्ध गराउनुपर्नेछ। अनधिकृत काउन्टर, परिचयपत्र तथा पोसाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुले अनिवार्य रूपमा टिकट लिनुपर्नेछ। यात्राका क्रममा मादक पदार्थ सेवन गर्न नपाइने तथा आधिकारिक काउन्टर वा परिचयपत्र भएका कर्मचारीबाट मात्र टिकट लिन प्रशासनले आग्रह गरेको छ।

लामो दूरीका यात्रुवाहक सवारी साधनले गन्तव्यतर्फ प्रस्थान गर्नुअघि सवारीको यान्त्रिक अवस्था अनिवार्य रूपमा जाँच गर्नुपर्ने व्यवस्था गरिएको छ। लामो दूरीको यात्रामा सार्वजनिक सवारी साधनमा कम्तीमा दुई जना चालकको व्यवस्था गरी पालैपालो सवारी चलाउने व्यवस्था मिलाउनुपर्नेछ।

यस्तै, १८ वर्ष उमेर पूरा नभएका बालबालिकालाई परिचालक तथा अन्य काममा नलगाउन यातायात व्यवसायीलाई निर्देशन दिइएको छ। चालकले मापसे तथा लागू पदार्थ सेवन गरेको पाइएमा सम्बन्धित व्यवसायीले तत्काल अर्को चालकको व्यवस्था गर्नुपर्नेछ।

जिल्ला प्रशासन कार्यालयले यी व्यवस्था यात्रुको सुरक्षा र सडक दुर्घटना न्यूनीकरणका लागि लागू गरिएको जनाएको छ। तोकिएका व्यवस्था उल्लंघन गरी सवारी सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ।

प्रशासनले यातायात व्यवसायी, चालक, सहचालक, यात्रु तथा सम्बन्धित सबै पक्षलाई सडक सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ। कुनै समस्या वा गुनासो भए ट्राफिक हेल्पलाइन १०३ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top