ट्रेण्डिङ

होमपेज / राजनीति

‘सरकारको कार्यशैली नसच्चिए परिणाम गम्भीर हुन सक्छ’ : युवा संघ अध्यक्ष गुरुङ

  सल्यान खबर डेस्क २०८३ आश्विन १७ गते शनिबार २०:०८:३२ मा प्रकाशित

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महाराज गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति आलोचना गर्दै सरकारका गतिविधिले जनआक्रोश बढाउँदै लगेको दाबी गर्नुभएको छ। उहाँले सरकारको वर्तमान कार्यशैली निरन्तर रहे त्यसको सामाजिक तथा राजनीतिक परिणाम गम्भीर हुन सक्ने चेतावनी दिनुभएको हो।

राष्ट्रिय युवा संघ नेपाल सल्यानको १२औँ जिल्ला अधिवेशनको शनिबार श्रीनगरमा उद्घाटन गर्दै अध्यक्ष गुरुङले प्रधानमन्त्री शाहले युवालाई उत्तेजित बनाउने वातावरण सिर्जना गरेर सत्तामा पुगेको आरोप लगाउनुभयो। उहाँले अहिले सरकार सञ्चालनमा देखिएको कार्यशैलीले थप असन्तुष्टि र प्रतिरोधको वातावरण बन्न सक्ने दाबी गर्नुभयो।

उहाँले भन्नुभयो, “बालेन्द्र शाह अराजकता मच्चाएर युवाहरूलाई भड्काएर त्यसअनुसारको विद्रोह गरेर जसरी सत्तामा पुगेका छन्, त्यसको परिणाम गम्भीर हुन सक्छ।” सरकारको कार्यशैलीप्रति जनताको असन्तुष्टि बढ्दै गए त्यसको असर राजनीतिक नेतृत्व तथा उनीहरूका परिवारसम्म पर्न सक्ने उहाँको भनाइ थियो।

गुरुङले सरकारको आलोचना गर्ने क्रममा प्रधानमन्त्री शाहबाट कानुनी प्रक्रिया पालना नगरी व्यक्तिलाई नियन्त्रणमा लिने खालका गतिविधि भएको दाबीसमेत गर्नुभयो। यस्ता गतिविधिले समाजमा थप असन्तुष्टि र उत्तेजना बढाउन सक्ने भन्दै उहाँले एमाले तथा राष्ट्रिय युवा संघमा आबद्ध युवालाई भने संयमित भएर राजनीतिक गतिविधिमा लाग्न आग्रह गर्नुभयो।

अध्यक्ष गुरुङले सामाजिक सञ्जालमार्फत गलत सूचना तथा भ्रम फैलिने क्रम बढेको भन्दै युवालाई तथ्यमा आधारित भएर धारणा बनाउन आग्रह गर्नुभयो। सामाजिक सञ्जालका एल्गोरिदममार्फत आउने सूचनाको प्रभावमा परी उत्तेजित हुनुभन्दा सत्यतथ्य पहिचान गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।

उहाँले नयाँ पुस्ताको जोश, सिर्जनशीलता र ऊर्जालाई पुरानो पुस्ताको अनुभवसँग जोडेर मात्रै समाजलाई सही दिशामा अघि बढाउन सकिने बताउनुभयो। समाजलाई विभाजन गर्ने तथा युवालाई उत्तेजित बनाउने गतिविधिले सामाजिक सद्भाव कमजोर पार्न सक्ने भन्दै त्यसतर्फ राजनीतिक दल र युवा संगठनहरू सचेत हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो।

एमाले निर्माणको इतिहास स्मरण गर्दै गुरुङले थोरै मानिसबाट सुरु भएको पार्टी विभिन्न आरोह–अवरोह पार गर्दै अघि बढेको बताउनुभयो। नेपाल र नेपालीको अस्तित्व, सामाजिक सद्भाव तथा सम्मानपूर्वक बाँच्ने वातावरण जोगाउन युवाको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गोविन्द पुन, जिल्ला कमिटी उपाध्यक्ष ओजबहादुर बुढाथोकी, सचिव पुष्पा बोहरा, उपसचिव गणेशमान सिंह, युवा संघ कर्णाली प्रदेश इन्चार्ज पञ्चमी रेग्मी र कर्णाली प्रदेश अध्यक्ष जीवन शाही लगायतले युवालाई पार्टीको विचार, सिद्धान्त र संगठनप्रति प्रतिबद्ध बनाउँदै सामाजिक रूपान्तरणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्षका रूपमा महाराज गुरुङको भूमिका र उहाँका सार्वजनिक राजनीतिक अभिव्यक्तिबारे हालका समाचारहरूमा पनि उल्लेख भएको पाइन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top