ट्रेण्डिङ

होमपेज / राजनीति

रास्वपा सल्यानको सभापतिमा नेपाली

  सल्यान खबर २०८३ जेठ २३ गते शनिबार १७:५०:१५ मा प्रकाशित

 जेठ २३,सल्यान 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानको प्रथम जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले प्रकाश नेपालीको सभापतित्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।

निर्वाचित कार्यसमितिको उपसभापतिमा टिकाराम केसी, सचिवमा श्रीकान्त राई, सहसचिवमा हिरा योगी तथा कोषाध्यक्षमा सीता मल्ल चयन हुनुभएको छ । सदस्यहरूमा प्रेमबहादुर चलाउने, रुपलाल बुढा, रमेशबहादुर वली, पुष्कर चलाउने, तुलसा खत्री, शेरबहादुर केसी, केशवराज केसी, राजु सुनार र रुद्रमणी शर्मा निर्वाचित हुनुभएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य खिमा विकले सुशासनमा आधारित समृद्ध नेपाल निर्माणका लागि जनताले रास्वपालाई जिम्मेवारी दिएको उल्लेख गर्दै त्यसअनुसार काम गर्नुपर्ने बताउनुभयो ।  पार्टीभित्रका विविध विचार र भावनालाई समेटेर नेतृत्व विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले सल्यानको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उहाँले बोलीलाई व्यवहारमा उतारेर मात्र जनताको विश्वास जित्न सकिने बताउँदै अहंकार र घमण्ड त्यागेर जनताको सेवामा समर्पित हुन कार्यकर्तालाई आग्रह गर्नुभयो।

कार्यक्रममा रास्वपा कर्णाली प्रदेश उपसभापति प्रेम बोहराले देशलाई समृद्ध र विकासशील राष्ट्रका रूपमा अघि बढाउनु पार्टीको मुख्य लक्ष्य रहेको बताउनुभयो ।  कर्णाली प्रदेश प्राकृतिक स्रोतसाधनले सम्पन्न भएकाले तिनको उचित उपयोगमार्फत विकास सम्भव रहेको उहाँको भनाइ थियो । 
प्रदेश महामन्त्री ललित चन्दले रास्वपा केवल राजनीतिक दल नभई रूपान्तरणको अभियान भएको उल्लेख गर्दै सुशासन स्थापना, विकृति–विसङ्गतिको अन्त्य तथा सामाजिक न्याय कायम गर्ने लक्ष्यका साथ पार्टी अघि बढिरहेको बताउनुभयो । उहाँले सल्यानमा गत प्रतिनिधिसभा निर्वाचनमा जनताले रास्वपालाई पहिलो दल बनाएकाले जिल्लाको विकासमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो।


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top