होमपेज / शिक्षा
प्रकाश शर्मा असार ७, सल्यान
सामुदायिक विद्यालय छाडेर संस्थागत विद्यालय जाने धेरै अभिभावक र विद्यार्थीको रोजाइमा पर्छ । केही सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर उच्च रहँदारहँदै पनि अभिभावकले संस्थागत विद्यालयमै आफ्ना बालबालिकालाई भर्ना गराउँदै आएका छन् ।
महँगो शुल्क तिरेर संस्थागत विद्यालयमा लैजाने अभिभावकको लहर बढेका बेला सल्यानको दार्मा गाउँपालिकामा सञ्चालित सबै संस्थागत विद्यालय सामुदायिकमा गाभिन पुगेको छ ।
गाउँपालिकामा सञ्चालन हुँदै आएको दोभान एकडेमी बोडिङ स्कुल यसै शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा गाभिएको हो । बोडिङ स्कुललाई श्री जनज्योति माध्यमिक विद्यालय फारुलाचौरमा गाभिएको दार्मा गाउँपालिकाका शिक्षा शाखाले जनाएको छ ।
गाउँपालिका भित्र एकै प्रकारको शिक्षा प्रदान गर्ने उद्देश्यले संस्थागतलाई सामुदायिकमा गाभिएको दोभान एकडेमी बोडिङ स्कुलका प्रिन्सीपल होताराम डाँगीले बताए । अभिभावक र विद्यार्थीलाई पनि नयाँ शैक्षिक सत्र सुरु भएपछि सामुदायिक र संस्थागत कुन विद्यालयमा भर्ना हुने भन्नेमा अन्योल हटेको छ ।
गाउँपालिका र सरोकारवालाको समन्वयमा संस्थागत विद्यालयलाई सामुदायिकमा गाभिएको हो । शैक्षिक गुणस्तर वृद्धि गरी गाउँपालिकाभित्रका सबै विद्यालयमा एक रुपताका साथ शिक्षा प्रदान गराउन कार्यविधि अगाडि सारिएको गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले बताए ।
गाउँपालिकामा रहेको एक मात्र निजी विद्यालय सरकारीमा मर्ज भएपछि दार्मा गाउँपालिका निजी विद्यालय बिहिन भएको छ ।





.jpg)