ट्रेण्डिङ

होमपेज / शिक्षा

सल्यानका एक दर्जन सामुदायिक विद्यालय गाभिए

  प्रकाश शर्मा २०७७ असार २ गते मंगलबार १६:४२:१७ मा प्रकाशित

प्रकाश शर्मा असार २, सल्यान  
सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि स्थानीय तहले विद्यालय मर्जको काम सुरु गरेका छन् । कम विद्यार्थी भएका र भौतिक पूर्वाधारको अभाव भएका विद्यालयहरु मर्ज गर्न थालिएको हो । 

सल्यानको दार्मा गाउँपालिकाले शिक्षा ऐन अनुसार शिक्षा शाखाले विद्यालयको अनुगमन गरी विद्यार्थीको संख्या कम भएका विद्यालयहरुलाई मर्ज गरेको छ । 
गाउँपालिकाका ११ विद्यालय समायोजन र ६ वटा विद्यालयको कक्षा घटुवा गरिएको दार्मा गाउँपालिकाले जनाएको छ । 
न्युन विद्यार्थी भएका र नजिकै भएका विद्यालय मर्ज गरिएको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए । विद्यार्थीको संख्या कम भएका विद्यालयलाई अर्को विद्यालयमा मर्ज गर्दा शिक्षकको संख्या बढ्न र त्यसले विद्यार्थीको शैक्षिक गुणस्तर बढ्ने विश्वास लिइएको उनको भनाई छ । 

  विद्यालय मर्ज भएसँगै विद्यालयमा शैक्षिक अवस्था गुणस्तरीय हुनुका साथै विद्यालयको खर्च पनि कटौती हुने शिक्षा अधिकृत शेर प्रसाद ढकालले बताए । विद्यालय मर्ज हुँदा शिक्षक संख्यामा वृद्धि भएर पठनपाठनमा पहुँच बढ्ने र विद्यार्थीहरुलाई समय दिन सकिने बताए । 
उनले विकट क्षेत्रमा विद्यार्थी संख्या थोरै भएकाले विद्यालय मर्ज गर्दा विद्यार्थीहरुको पठनपाठनमा वृद्धि हुने बताए । उनले भने विद्यार्थीहरुको न्युन संख्या र नजिकै विद्यालयहरु भएमा उनीहरुको भौगोलिक अवस्था हेरेर हामीले विद्यालय मर्ज गर्ने गरेका छौं । 

मर्ज भएका विद्यालयहरु 

श्री जनसेवा प्राथमिक विद्यालय खालीतारालाई बालज्ञानोदय आधारभुत विद्यालय काफगैरा १, बालकल्याण प्राथमिक विद्यालय लहरेपिपल ४ लाई कालिका आधारभुत विद्यालय लाखुरीडाँडामा, सुर्योदय प्राथमिक विद्यालय ओझावाङलाई बालकल्याण माध्यमिक विद्यालय भुवनटाकुरीमा, बालकल्याण प्राथमिक विद्यालय घुसखोलालाई जनज्योति माध्यमिक विद्यालय फारुलाचौरमा मर्ज गरिएको छ । 

यस्तै जनज्योति प्राथमिक विद्यालय लिरापाँजालाई भविश्य निर्माता प्राथमिक विद्यालयमा, कालिका प्राथमिक विद्यालय सुगाखोलालाई कक्षा ४ र ५ लाई लोकतान्त्रिक प्राथमिक विद्यालय मलेअम्रैमा , कमल प्राथमिक विद्यालय कमलपोखरीलाई कालिका आधारभुत विद्यालय लाखुरीडाँडामा मर्ज गरिएको छ । 

यस्तै सरस्वती प्राथमिक विद्यालय भालुखोलालाई कक्षा ४ र ५ लाई नेपाल राष्टिय माध्यमिक विद्यालय कोटमा, सिद्धार्थ आधारभुत विद्यालय वडाचौरको कक्षा ५, ७ र ८ लाई सुर्योदय माध्यमिक विद्यालय गोठिवनमा, दिनदिप प्राथमिक विद्यालय अंगारेनेटाको कक्षा ४ र ५ लाई सुर्योदय माध्यमिक विद्यालय गोठिवनमा र जनकल्याण प्राथमिक विद्यालय भृकुटीको कक्षा ४ र ५ लाई लक्ष्मी आधारभुत विद्यालय ज्यामिरेचौरमा समायोजन गरिएको शिक्षा अधिकत ढकालले बताए । 
विद्यालय समायोजन तथा कक्षा घटुवा गर्दा २ करोड ४७ लाख ५ हजार बजेट अनुदानमा आउने उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top