होमपेज / शिक्षा
दीपक शर्मा मंसिर २२,सल्यान
गत चैत्रदेखि बन्द भएका सल्यानका विद्यालयहरु खुलेका छन् । कोरोना भाइरसको फैलँदो संक्रमणका कारण बन्द भएका विद्यालय आठ महिनापछि खुलेका हुन ।
नेपाल सरकारले सिकाई निर्देशिका २०७७ जारी गरेपछि विद्यालय सञ्चालन गर्न बाटो खुलेको हो । त्यसैको आधारमा विद्यालयहरु सञ्चालनमा आउन थालेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सल्यानका इकाई प्रमुख लाल बहादुर घर्तीले बताए । वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजिकरण कार्यक्रमलाई आधार मानेर विद्यालय सञ्चालनमा आएको उनको भनाई छ ।
विद्यार्थी सिकाई सहजीकरण निर्देशिका बमोजिम नगरपालिकाका सबै विद्यालय सञ्चालनमा आएको बनगाड कुपिण्डे नगरपालिकाले जनाएको छ । यहि मंसिर १५ गतेदेखि नगरपालिकाका सबै सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालनमा आएको नगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र बहादुर रावतले बताए । विद्यार्थीको संख्याको आधारमा स्वास्थ्यको मापदण्ड अपनाई पठनपाठन भइरहेको रावतको भनाई छ ।
खुलेका विद्यालयहरुमा अनिवार्य मास्क, सेनिटाइजर र हात धुने साबुन पानीको व्यवस्था गर्न सम्बन्धित विद्यालयलाई पत्राचार गरिएको शारदा नगरपालिकाका शिक्षा शाखा प्रमुख लिला बहादुर बबालले बताए । नगरपालिकाका भित्रका सबै प्रधानाध्यापकहरुको सयुंक्त बैठ्कबाट तिहार लगत्तै विद्यालय सञ्चालन गर्ने निर्णय बमोजिम नगरपाकिाका सबै विद्यालय खुलेको उनको भनाई छ ।





.jpg)