होमपेज / स्वास्थ्य
असार ७,सल्यान
कर्णाली प्रदेश सरकारले सञ्चालन गर्दै आएको र्दीघ तथा कडा रोगका बिरामीलाई उपचार सहायता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई उपचारमा सहयोग पु¥याउने उद्देश्यले सुरु गरिएको कार्यक्रम मार्फत चालु आर्थिक वर्षको हालसम्म १९२ जना बिरामीले सेवा लिएका छन् ।
आइतबार सल्यान खलंगामा आयोजित स्वास्थ्य प्रवद्र्धन सम्बन्धी मिडियाकर्मीहरुका लागि सञ्चार तथा पैरवी कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
कर्णीली प्रदेश सरकारले मुटु रोग, मिर्गौला रोग, क्यान्सर, अल्जाइमर्स, स्पाइनल इन्जुरी, एनिमिया तथा रिकेट्स जस्ता जटिल तथा दीर्घकालीन रोगको उपचारमा आर्थिक सहायता प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०८१÷०८२ को साउन १ गतेदेखि उपचार गराएका बिरामीलाई उपचार सहायता उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याइएको हो ।
स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहका अनुसार कार्यक्रमप्रति नागरिकको आकर्षण बढ्दै जाँदा यसको प्रभावकारिता समेत देखिन थालेको छ । उहाँले हालसम्म कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट १९२ जना बिरामीले उपचार सहायता प्राप्त गरिसकेको जानकारी दिनुभयो ।
निर्देशनालयका अनुसार सेवा लिनेमध्ये सबैभन्दा बढी सुर्खेत जिल्लाका १०९ जना रहेका छन् त्यसपछि दैलेखका ४४ जना, कालिकोटका ११ जना, जाजरकोटका ११ जना, हुम्लाका ७ जना, जुम्लाका ६ जना, सल्यानका ३ जना र रुकुम पश्चिमका १ जना बिरामीले सेवा लिएका छन् । यद्यपि डोल्पा र मुगु जिल्लाबाट हालसम्म कुनै पनि बिरामीले उक्त सुविधा उपयोग नगरेको जनाइएको छ ।
कार्यक्रमबाट लाभान्वित हुनेमध्ये ७९ जना महिला र ११३ जना पुरुष रहेका छन् । ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई उपचार खर्च जुटाउन कठिन हुने अवस्थामा सरकारले प्रदान गरेको सहयोगले राहत मिलेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
सुरुमा कार्यक्रमका लागि कर्णाली प्रदेश सरकारले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर बिरामीको संख्या अपेक्षाभन्दा बढी भएपछि थप १ करोड रुपैयाँ बजेट व्यवस्थापन गरिएको छ । यससँगै हालसम्म कार्यक्रमका लागि कुल २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जनस्वास्थ्य अधिकृत सिंहले जानकारी दिनुभयो ।
पछिल्लो समय सर्ने रोगभन्दा नसर्ने रोगले जनस्वास्थ्यमा ठूलो चुनौती सिर्जना गरिरहेको सल्यान जिल्ला अस्पताल सल्यानका डा. कृष्ण डिसीले जानकारी दिनु भयो । बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, शारीरिक गतिविधिको कमी, मदिरा तथा सुर्तीजन्य पदार्थको प्रयोग, मानसिक तनाव लगायतका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको उहाँको भनाई छ ।
नेपालमा क्यान्सर, मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मिर्गौला रोग तथा श्वासप्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू प्रमुख स्वास्थ्य चुनौतीका रूपमा देखिएको डिसीले बताउनु भयो ।
स्वास्थ्य सेवा निर्देशनालयले आगामी दिनमा कार्यक्रमबारे थप प्रचारप्रसार गर्दै दुर्गम जिल्लाका नागरिकलाई समेत लाभान्वित गराउने योजना बनाएको जनाएको छ ।





.jpg)