होमपेज / शिक्षा
दीपक शर्मा असोज १०, सल्यान
सल्यानमा सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरुले विगत एक वर्ष देखि तलब पाउन सकेका छैनन् ।
शून्य तथा एक दरबन्दी भएका विद्यालयमा पढाउँदै आइरहेका शिक्षण सिकाई सहयोग अनुदान शिक्षकहरुले विगत एक वर्षदेखि पारिश्रमिक नपाएका हुन ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले गत आर्थिक वर्षको साउन देखि हालसम्म पारिश्रमिक नपाएको जनज्योति माध्यमिक विद्यालय बनगाड कुपिण्डे नगरपालिका ८ का शिक्षक ओम प्रकाश बुढाथोकीले बताए ।
शुन्य तथा एक मात्र दरबन्दी भएका विद्यालयमा गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षकहरुले गत शैक्षिक सत्रको साउनदेखि पारिश्रमिक नपाएको उनको भनाई छ । एक वर्षदेखिको पारिश्रमिक नपाउँदा दैनिक गुजारा चलाउन निकै समस्या भएको उनको भनाई छ
एक वर्षदेखि तलब नपाउँदा पारिश्रमिक पाउने नपाउनेमा आफूहरु अन्यौलमा परेको शारदा आधारभूत विद्यालय केउरेनीका गणित शिक्षक चन्द्र बहादुर बिसीले बताए । उनले भने ‘छोडेर जाने हो पहिले विद्यार्थीको भविष्य अन्योल पर्ने नछोडाँैं आफ्नो भविष्य अन्योलमा परी रहेको छ ।’
पारिश्रमिक आउने नआउने बारेमा मन्त्रालयले हालसम्म कुनै जानकारी नगराएको शिक्षण सिकाई सहयोग अनुदान संघर्ष समिति जिल्ला संयोजक दीपेन्द्र प्रकाश वलीले बताए । सूचना माग्दा समेत सूचना नदिएर मन्त्रालयले सूचनाको हक माथि समेत ठाडो उलंघन गरेको उनको भनाई छ । उनले भने ‘अनुदान शिक्षकहरुलाई पारिश्रमिक दिन पटक पटक मन्त्रालयमा ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ भएको छैन ।’
सल्यानमा दश स्थानीय तहका विभिन्न विद्यालयमा ९८ शिक्षकले विगत एक वर्षदेखि तलव नपाएको वलीको भनाई छ । मा.वि तहमा पढाउने शिक्षकले चालु आर्थिक वर्षदेखि पारिश्रमिक नपाए पनि प्रावि. र निमावि तहका शिक्षकले एक वर्षदेखि पारिश्रमिक नपाएको उनले बताए । उनका अनुसार मा.वि. तहमा २९, नि.मा.वि. तहमा ६० र प्रा.वि तहमा ९ शिक्षक रहेका छन् ।
विगत एक वर्षदेखि रोकिएको शिक्षकहरुको तलव कात्तिक भित्र आउने मन्त्रालयले जानकारी गराएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सल्यानका इकाई प्रमुख लाल बहादुर घर्तीले बताए । ‘उहाँको पारिश्रमिक मन्त्रालयले सिधै स्थानीय तहको खातामा पठाउने गर्छ । असोजको अन्तिम देखि कात्तिकसम्म पठाउने तयारी गरेको आफूले जानकारी पाएको छु ।’





.jpg)