ट्रेण्डिङ

होमपेज / शिक्षा

दार्मा गाउँपालिकाले टोल सिकाई केन्द्रमा राखेर विद्यार्थी पढाउँदै

  दिपक शर्मा २०७७ आश्विन ५ गते सोमबार १८:०६:१९ मा प्रकाशित

दीपक शर्मा असोज ५, सल्यान 
जिल्लाको दार्मा गाउँपालिकाले टोल सिकाई केन्द्र मार्फत विद्यार्थी अध्ययन अध्यापन गराउँदै आएको छ । 

कोरोना भाइरसका कारण विगत पाँच महिनादेखि शिक्षण संस्था बन्द भएपछि गाउँपालिकाले टोल सिकाई केन्द्र माफर्त पठन पाठन सुरु गरेको हो । 
आधा शैक्षिक सत्र सकिन लाग्दा विद्यालयमा पठन पाठन गराउन समस्या भएपछि  टोल सिकाई केन्द्र मार्फत विद्यार्थीहरुलाई पठन पाठन गराउन थालेको गाउँपालिकाका शिक्षा अधिकृत शेर प्रसाद ढकालले बताए । उनले भने ‘मा.वि. र नि.मा.वि का विद्यार्थीहरु धेरै र सेवा क्षेत्र पनि धेरै हुने भएकाले कोरोनाको जोखिम पनि उत्तिकै हुन सक्ने भएकाले टोल टोलमा पुगी पठनपाठन गराउने निर्णय गरेका हौंँ ।’ 

टोल सिकाई केन्द्रमा विद्यालय व्यवस्थापन वा शिक्षक अभिभावक संघका पदाधिकारीको संयोजकत्वमा अभिभावक, शिक्षक, वृद्धिजिवी समेतको प्रतिनिधित्व हुने गरी ७ सदस्सीय टोल सिकाई सहजीकरण व्यवस्थापन समिति गठन गरिएको ढकालको भनाई छ । 
कोभिड १९को जोखिम कम, विद्यार्थी संख्या न्युन, सानो सेवा क्षेत्र र क्वारेन्टाइन नभउका विद्यालयहरुमा प्राथमिक तहको सिकाई सहजीकरण गरिने उनको भनाई छ । उनले भने ‘प्राथमिक तहका विद्यार्थीहरुलाई एक दिन ग्याप राखी विद्यालयमा नै पढाई रहेका छौं ।’ 

कोरोना भाइरसका कारण विद्यालय बन्द भएपछि टोल सिकाई केन्द्रबाट सुरु भएको पठन पाठन प्रभावकारी भएको श्री जनज्याती माध्यमिक विद्यालय फारुलाचौरका प्रधानाध्यापक मिनराज वलीले बताए । विशेष गरी मा.वि. र नि.मा.वि.का विद्यार्थीहरुलाई लक्षित गरी टोल सिकाई केन्द्र मार्फत शिक्षण गराई रहेको उनको भनाई छ । 

मा.वि. र नि.मा.वि. का लागि विद्यालयले १२ वटा सिकाई केन्द्र र प्राथमिक तहका लागि ४ वटा सिकाई केन्द्र स्थापना गरिएको वलीले बताए । 
टोल सिकाई केन्द्रममा शिक्षकहरुले घुम्ती प्रणाली, फोन सम्पर्कबाट पनि अध्ययन गराउने उनको भनाई छ । सिकाई सहजीकरणका लागि विद्यालयले विद्यार्थी संख्याका आधारमा टोल सिकाई केन्द्र स्थापना गर्न सक्ने र उक्त केन्द्रमा साबुन पानीको उचित व्यवस्था गरिएको वलीको भनाई छ । 

दार्मा गाउँपालिकामा ६ माध्यमिक विद्यालय, १० निम्न माध्यमिक विद्यालय र १७ प्राथमिक विद्यालय रहेका छन् । मंसिरमा पहिलो र चैतमा अन्तिम परीक्षा गर्ने योजनाका साथ पठनपाठन भई रहेको दार्मा गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top