होमपेज / शिक्षा
दिपक शर्मा साउन २,सल्यान
कोरोना कहरका कारण सामुदायिक विद्यालय बन्द भएपछि टोलटोलमा शिक्षक खटाई बालबालिकाहरुलाई पढाउन थालिएको छ । शिक्षकहरु शैक्षिक सामाग्री सहित टोलमै पुग्न थालेपछि विद्यार्थी पनि खुशी भएका छन् ।
शिक्षक विद्यार्थीहरुको पायक पर्ने स्थानमा टोल विभिजन गरी पढाउने काम गरी रहेको सरस्वती माध्यमिक विद्यालयका शिक्षक रविकिरण ओलीले बताए । कोरोना भाइरसका कारण अब पढ्न पाइदैन की भनेर चिन्तित बनेका विद्यार्थीहरु लागि सामुहिक पढाई निकै सहज महसुस गरेको उनको भनाई छ । उनले भने ‘कलस्टर निर्धारण गरी शिक्षकहरु टोल टोलमा पुगी विद्यार्थीहरुलाई प्रोजेक्ट वर्क दिने काम भइरहेको छ ।’ बालविकास केन्द्रदेखि कक्षा १० सम्मका झन्डै ८ सय बढी विद्यार्थीहरु भर्ना भई सामुहिक अध्ययन गरी रहेको उनको भनाई छ ।
चैत पहिलो हप्ता देखि विद्यालयमा गई पठन पाठन गर्न नपाएका विद्यार्थीहरु आफ्नै गाउँटोलमा पढ्न पाएपछि खुशी भएका छन् । बन्दा बन्दीका कारण विद्यालय जान नपाएका बागचौर नगरपालिका ५ शिवरथकी निर्मला वि.क.लले शिक्षक टोल टोलमा पुगी प्रोजेक्ट वर्क दिनथालेपछि घरमै पढ्न थालेको बताइन । सरस्वती माध्यमिक विद्यालय बागचौर नगरपालिका ५ शिवरथमा कक्षा १० मा अध्ययनरत उनले अरु साथीहरुसँगै सामुहिक रुपमा पठन पाठन गर्न थालेपछि निकै सहज भएको बताइन ।
बागचौर नगरपालिकाका सबै विद्यालयहरुमा सामाजिक दुरी कायम गरी भर्ना गर्ने कार्यसँगै टोल टोलमा पुगी बालबालिकाहरुलाई पठनपाठन गराई रहेको बागचौर नगरपालिकाका शिक्षा शाखाका टेक बहादुर डिसीले बताए ।
घरमा पठनपाठनको वातावरण नभएका र पाठ्यसामाग्रीको अभाव भएका बालबालिकाले घरमै सिक्न पाएको उनको भनाई छ । उनले भने ‘विद्यालयमा जान नपाए पनि अहिले उनीहरुलाई धेरै राहत मिलेको छ ।’ नगरपालिकामा ४४ प्राथमिक, १४ आधारभुत, १० माध्यमिक गरी ६८ सामुदायिक विद्यालय रहेका छन् ।
कोरोना महामारीका कारण क्वारेनटाइन बनाइएका जिल्लाका अधिकांश विद्यालयका विद्यार्थीहरु सामुहिक रुपमा गाउँ गाउँमा पढी रहेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सल्यानका इकाई प्रमुख लाल बहादु घर्तीले बताए ।
विद्यालय कहिलेदेखि सञ्चालन गर्ने भन्ने अन्यौल भइरहेको अवस्थामा जिल्लाका विभिन्न विद्यालयले आफ्नो सापेक्षतामा पढाई भई रहेको उनको भनाई छ । क्वारेनटाइन नभएका र विद्यार्थी थोरै भएका केही विद्यालयका विद्यालयहरुले कक्षामा नै पढाई रहेको पाइएको उनको भनाई छ ।





.jpg)