ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानको दार्मामा २५ जना जनयुद्धका सहिद परिवारलाई सम्मान

  प्रकाश शर्मा २०८१ फाल्गुण १९ गते सोमबार २०:५६:०७ मा प्रकाशित

प्रकाश शर्मा, फागुन १९, सल्यान 
सल्यानको दार्मामा २५ जना जनयुद्धका सहिद परिवारलाई सम्मान गरिएको छ । सोमबार दार्मा गाउँपालिकाको आयोजनामा सहिद सप्ताह तथा महान जनयुद्ध दिवसको अवसरमा जनयुद्धका २५ जना सहिद परिवारलाई सम्मान गरिएको हो ।

सहिद परिवारलाई तीनवटा कासका थाली, तीनवटा कचौरा, एउटा लोटा र दोसल्लाले सम्मान गरेको गाउँपालिकाले जनाएको छ । 
जनयुद्धका क्रममा दार्मा गाउँपालिकामा राज्य पक्ष र विद्रोही पक्षबाट २३ जनाको मृत्यु भएको थियो भने २ जना बेपत्ता भएको पालिकाको भनाइ छ । 
दार्मा गाउँपालिकाको सहिद स्मृति सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष निम बहादुर केसी, उपाध्यक्ष जुना मल्ल चन्द, वडाअध्यक्षहरू, नेकपा माओवादी केन्द्र दार्मा गाउँ कमिटी अध्यक्ष दुर्गा मल्ल, नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समिति सदस्य तथा दार्मा गाउँपालिका इन्चार्ज अनन्त प्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो। 

कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष निम बहादुर केसीले सहिदहरूको योगदानलाई सम्मान गर्दै सहिद स्मृति कप, सभाहल, गेट, रंगशाला, शालिक निर्माण तथा सहिद परिवारसँग भेटघाट र सहिद पुस्तकालय निर्माणजस्ता योजनाहरू कार्यान्वयन गरिएको जानकारी गराउनु भयो। उहाले जनयुद्धको उपलब्धिलाई संस्थागत गर्दै समाजवादको यात्रामा सहिद परिवारको साथ आवश्यक रहेको बताउनु भयो ।

सरकारले सहिद परिवारलाई लाभका पदहरूमा प्राथमिकता दिँदै आएको उल्लेख गर्दै उहाले जनजीविकाका सवालमा पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा अर्का अतिथि अनन्त प्रसाद शर्माले सहिदलाई राष्ट्रियकरण गर्ने अभियान नेकपा माओवादी केन्द्र र अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको पहलबाट सफल भएको बताउनुभयो। उहाले सहिद परिवारका लागि शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा विशेष व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो । 
कार्यक्रममा उपाध्यक्ष जुना मल्ल, पार्टी अध्यक्ष दुर्गा मल्ल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।दार्मा गाउँपालिका सामाजिक विकास शाखा सभापति पुष्पाञ्जलि मगरको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत रेशम वलीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top