होमपेज / राजनीति
प्रकाश शर्मा भदौ ११, सल्यान
वडा पुनर्संरचना सुझाव समितिले दुई विकल्प सहितको प्रतिवेदन दार्मा गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।
वडा पुनर्संरचनाको आवश्यकता पहिचान र विकल्प सहितको मोडेल प्रस्तुत गर्न मिति २०७७ साउन १६ गतेको गाउँ कार्यपालिकाको बैठकले वडा पुनर्संरचना सुझाव समिति गठन गरेको थियो ।
समितिको तर्फबाट २०७७ भाद्र १० गते वडा पुनर्संरचनाको आवश्यकता र विकल्पयुक्त मोडेल समेटिएको २१ पृष्ठको प्रतिवेदन गाउँपालिका अध्यक्षलाई हस्तान्तरण गरिएको वडा पुनर्संरचना सुझाव समितिका संयोजक शेरप्रसाद ढकालले बताए ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद २ को दफा ६ बमोजिम जनसङख्या तथा जनसङ्ख्या वितरणको अवस्था, भौगोलिक निरन्तरता, अनुकूलता तथा विशिष्टता, भाषिक, सांस्कृतिक तथा सामाजिक विशिष्टत, सेवा सुविधा वितरणको अवस्था र सुगमता, विद्यमान भौतिक पूर्वाधारका आधारमा वडा पुनर्संरचनाका दुई विकल्प सहितका मोडेल प्रतिवेदनमा प्रस्तुत गरिएको उनको भनाई छ ।
दार्मा गाउँपालिकाको वडा पुनर्संरचनाका लागि वडागत रुपमा आर्थिक सक्षमता, प्राकृतिक साधनस्रोतको उपलब्धता, भाषिक, सांस्कृतिक तथा सामुदायिक बनोटलाई रौंचिरा ढङ्गले केलाउने प्रयास गरिएको ढकालले बताए ।
प्रतिवेदनमा प्रस्तुत मोडेलका बारेमा कार्यपालिकाले वडा तथा पालिका स्तरमा सरोकारवालासँग छलफल गरि तथ्य र औचित्य समेटिएका सुझाव लिने छ । सुझाव कार्यान्वयन गर्ने वा नगर्ने, गर्ने भए कति गर्ने वा सबै गर्ने जिम्मा अब गाउँ कार्यपालिका र गाउँसभाको रहेको छ ।





.jpg)