ट्रेण्डिङ

होमपेज / पर्यटन

सल्यानको कुपिण्डे तालमा पहिलो पटक र्‍याप्टिङ सञ्चालन

  इन्द्र बुढाथोकी २०७८ मंसिर ६ गते सोमबार १२:४६:०४ मा प्रकाशित

इन्द्र बुढाथोकी  मंसिर ६,सल्यान 
नेपालका एक सय पर्यटकीय स्थल मध्येको सल्यानको कुपिण्डे तालमा पहिलो पटक र्‍याप्टिङ सञ्चालनमा ल्याइने भएको छ । 

पर्यटन प्रर्वद्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ डिभिजन वन कार्यालय सल्यानको आर्थिक सहयोगमा बनगाड कुपिण्डे नगरपालिकालाई तीन वटा र्‍याप्टिङ हस्तान्तरण गरेको छ । यसअघि तालमा काठका परम्परागत डुंगा सञ्चालन रहेकोमा पहिलो पटक र्‍याप्टिङ बोर्ट सञ्चालनमा ल्याइने भएको हो । 

आधुनिक डुंगा सञ्चालनमा ल्याएपछि तालमा आउने आन्तरिक तथा बाह्रय पर्यटकको संख्यामा वृद्धि आउने अपेक्षा गरिएको डिभिजन वन कार्यालय सल्यानका डिभिजन वन प्रमुख रमेश गिरीले बताए । उक्त डुंगामा बसेर छिटो र कम जोखिम पूर्ण रुपमा तालमा सयर गर्न सकिने उनको भनाई छ । 

कुपिण्डेतालको पर्यापर्यटनको टेवा पुग्नुका साथै स्थानीय समुदायको रोजगारी र जीविकोपार्जनमा समेत योगदान पुर्‍याउने गिरीको भनाई छ । अन्य डुंगामा भन्दा यसमा जोखिम कम भएको र वातावरणीय हिसाबले पनि ठिक भएको उनको भनाई छ । 

५० लाखको लागतमा ३ वटा र्‍याप्टिङ र्बोट, ३ गाइड ज्याकेट, ३ लाइफ ज्याकेट २६, पम्प ३, सेफ हाउस १, गाइड प्याडल, ३, प्याडल २६, हेल्मेट २६ लगायतका सामाग्री खरिद गरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ । कुपिण्डे तालको विकासका लागि गुरुयोजना बनाई रहेको गिरीले बताए । 
वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शेरबहादुर श्रेष्ठले  कुपिण्डे ताल सुन्दर भएको र यसलाई संरक्षण गर्न सबैको दायित्व भएको बताए ।

प्रदेश बन निर्देशक शिवराम अधिकारीले पर्यटनको विकासको लागि कुपिण्डे तालको संरक्षण जरुरी रहेको र त्यसका लागि जलाधार व्यवस्थापनको लागि गुरुयोजना बनाएर लाग्नु पर्नेमा जोड दिए ।  नगरपालिकाले  कार्यविधि बनाएर त्यस क्षेत्रका  मानिसको आयाअर्जनमा बढुवा  मिल्ने उनको भनाई छ । बिगतमा एलएफफीले काठको डुङ्गाबाट सुरु गरेको अहिले र्‍याप्टिङ बोर्माट परिणत भएको समेत  बताए । आफु धेरै पटक कुपिण्डे तालमा आएको र सल्यान बस्दा राम्रो सङ्ग अध्ययन समेत गरेको  बताउँदै उनले यसको विकास र पर्यटन भित्र्याउन सक्ने धेरै आधार भएको समेत दावी गरे । 
 

मिनि राराको रुपमा समेत परिचित कुपिण्डे तालको विकास र यसको संरक्षण तर्फ ध्यान दिन जरुरी रहेको बनगाड कुपिण्डे नगरपालिका उपमेयर मन्जु यरीले बताइन । कुपिण्डे ताल सल्यानको मात्र नभएर कर्णाली प्रदेशकै गहना भएकाले आन्तरिक तथा बाह्रय पर्यटकको विकास गर्न सके आर्थिक रुपमा प्रदेश नै सवल र सक्षम बन्न सक्ने बताइन । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top