ट्रेण्डिङ

होमपेज / पर्यटन

ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल कुमाख मेला (फोटो फिचर)

  सल्यान खबर डेस्क २०८० कार्तिक ११ गते शनिबार १९:५२:१८ मा प्रकाशित

कात्तिक ११, सल्यान 

धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थलको नाम कुमाख हो । कुमाख धार्मिक तथा प्राकृतिक पर्यटनका हिसाबले निकै महत्त्वपूर्ण मानिन्छ ।

समुन्द्री सतहदेखि २ हजार ५ सय ३७ मिटर उचाइमा रहेको कुमाख पहाड जिल्लाको दोस्रो अग्लो पहाड हो । सिद्ध कुमाख र कुमाख गाउँपालिकाको सङ्गमको रुपमा रहेको पहाडको चुचुरोमा सिद्ध मन्दिर रहेको छ ।

पहाडका विभिन्न स्थानमा रहेका दर्जनौँ गुफाहरू पर्यटनका लागि आकर्षण केन्द्र बन्न सक्छन् । कुमाखमा रहेको सिद्ध गुफा निकै रमणीय रहेको छ । गुफाको अवलोकनका साथै पूजा आराधना गर्नेको पनि कमी रहँदैन । ‘गुफाहरूमा रहेका विभिन्न खालका आकृतिहरू निकै रमणीय रहेका छन् ।

स्थानीयहरूले कुमाखमा रहेको गुफाबाट पठाएका कुकुरहरू बाँझ काँडाको मोख्ला र कालागाउँ थदरामा रहेको गुफाबाट निस्किएकाले गुफाहरूको लम्बाइ निकै भएको भनाई छ । पहिले गुफाको लम्बाइ पत्ता लगाउन कुकुर पठाएको बुढापाकाले सुनाउने गरेको स्थानीयको भनाई छ ।

कुमाख प्राकृतिक निकै मनोरम रहेको छ । कुमाखको टुप्पोबाट १५ जिल्लाका भू–भागहरू देख्न सकिन्छ । कुमाख पहाडबाट उत्तरमा रहेका सिस्ने, धौलागिरि, चाखुरे हिमाल, डिग्रे भगवतीको मन्दिर, जन्ती बस्ने लेकलगायतका ढुङ्गे पहाड र अधिकांश गाउँहरू एवम् तराईका विभिन्न भू–भाग अवलोकन गर्न सकिन्छ ।  कुमाख पहाडको चुचुरोबाट भारतको रुपैडियासम्म देख्न सकिन्छ ।

कुमाख पहाडमा उच्च पहाडी जङ्गलमा पाइने महत्त्वपूर्ण जडीबुटी, बनस्पती, फूलहरू पनि पाइन्छन् । त्यस्तै, दुर्लभ मानिएका चराचुरुङ्गी र जङ्गली जनावरहरू पनि कुमाख पहाडका आसपासमा रहेका जङ्गलमा पाइने गरेका छन् । पहाडमा रहेका गुफा, खोँच र वनजंगल निकै बाक्लो रहेकाले पनि जङ्गलमा राते मृग, घोरल, चितुवा रहेको स्थानीयको भनाई छ । पछिल्लो केही समययता कुमाख र आसपासका जङ्गलमा चोरी सिकारी बढेसँगै संरक्षणतर्फ सबैको ध्यान जानुपर्ने देखिन्छ । ‘प्राकृतिक र धार्मिक महत्वको कुमाख पहाडको संरक्षण, विकास र सम्वद्धर्नमा  सबै लाग्न जरुरी छ । वन्यजन्तुहरूको सुरक्षित वासस्थानका रुपमा समेत कुमाखको वनजंगल संरक्षित गर्नुपर्ने देखिन्छ ।’

कुमाखलाई दृश्यावलोकनका लागि भ्यूटावरको रुपमा विकास गर्न सके आन्तरिक पर्यटनका साथै बाह्य पर्यटनको गन्तव्य कुमाख बन्न सक्ने निश्चित छ । कुमाख पहाड भएर चाख्ली घाट कुमाख, ढोरचौर–गुरुदासे–स्यानीपिपली सडक, थारमारे–चौरपानी–ओखरबोट गुरुदासे सडक निर्माण गरिएको छ । दुवैतिरबाट कुमाखको टुप्पोमा पुग्न उकालो एक घण्टा पैदल यात्रा गरे टुप्पोमा पुग्न सकिन्छ । कुमाखको टुप्पोमा अहिले दक्षिण पश्चिम मोहडाबाट आरोहण सहज रहेको छ । प्राकृतिक एवं धार्मिक पर्यटकहरूको लागि अध्ययन, अनुगमन र दृश्यावलोकन गर्नका लागि कुमाख पहाड राम्रो गन्तव्य बन्न सक्छ ।

धार्मिक विश्वासका साथ भक्तजनहरूले कुमाखमा रहेको सिद्ध मन्दिरमा चतुर्दशी र कोजाग्रत पूर्णिमाको दिन पूजा आराधनाका गर्ने प्रचलन छ । पहिलो पटक कुमाख पुग्नेले सात पटक मन्दिरको परिक्रम गरेर बर माग्ने र सो पूरा भएपछि भेडाको बलि चढाउने प्रचलन चलिआएको छ ।

कुमाखमा कोजाग्रत पूर्णिमाका दिन सिद्ध मन्दिरदेखि १ किलोमिटर तल लिमाजीतर्फको समथर भू–भागमा मेला (जात्रा) लाग्ने गर्दछ । मेलामा आसपासका विभिन्न गाउँका मेलारुहरुले स्थानीय लोकसंस्कृति झल्कने बनगाडी, टप्पा, सोरठी, पसेरी, दोहरी ,सेरेङ्गेजस्ता नाच प्रदर्शन गर्ने गर्दछन् । आ–आफ्ना गाउँका पहिचान मेलामा देखाउने, जमघट हुने पर्वका रुपमा कुमाख मेलालाई लिइने गरिन्छ ।  लोकसंस्कृतिमा कुमाख मेलाले टेवा पु¥याए पनि बिस्तारै लोप हुन थालेकोप्रति वृद्धहरूको चिन्ता रहेको छ । 

पूर्वाधारको निर्माणको साथै प्रचारप्रसार गर्न सके यसबाट आन्तरिक र बाह्य पर्यटनको केन्द्रको रुपमा कुमाख पहाड पर्यटन गन्तव्य बन्न सक्ने प्रशस्त सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top