होमपेज / पर्यटन
सन्तोष घर्ती सल्यान,१० असोज ।
सल्यानको त्रिवेणी गाउँपालिकाका नागरिकहरूले धार्मिक पर्यटन प्रवर्द्धन चासो दिन थालेका छन् । गाउँपालिकाको वडा नम्बर ५ गैरा सल्लेका नेत्रलाल गिरी र हिमा गिरी दम्पतीले मन्दिरलाई धार्मिक सामाग्री दान गरेर धार्मिक पर्यटन प्रवर्द्धन चासो दिएका हुन ।
गिरी दम्पतीले धार्मिक कार्यक्रमको आयोजना गरेर स्वर्गीय बुवा काँसीराम गिरीको सम्झनामा गैरासल्लेमा रहेको नर्बदेश्वरी शिव पार्वतीको मन्दिरलाई ५० हजार बराबरको गजुर,घण्टी,दियोपाला तथा शंक दान गरेको हिमा गिरीले जानकारी दिनु भयो ।
प्राकृतिक दृष्टिकोणले मनोरम रहेको गाउँ गैरा सल्लेमा १९ सय १८ सालमा स्थानीय रुम्ता गिरी अगुवाइमा नर्बदेश्वरी शिव पार्वतीको मन्दिरको स्थापना भएको थियो । गाउँलेहरूबाट दान दक्षिणा,माना मुरी उठाई मन्दिरको भौतिक संरचना १९ सय ६० सालमा बनाइएको थियो । मन्दिरमा पूजापाठ गर्दा महामारी रोग तथा दैविक प्रकोपबाट बच्न सकिने जनविश्वास रहेको स्थानीय ज्येष्ठ नागरिक लाल बहादुर गिरीको भनाई छ ।
धार्मिक रुपमा महत्त्व बोकेको गैरासल्लेको नर्बदेश्वरी शिव पार्वतीको मन्दिरमा आर्थिक २०७९।०८० मा वडाको तर्फबाट ३ लाख बजेट विनियोजन गरेर विभिन्न मूर्तिहरू समेत निर्माण गरिएको छ । गत,मेथी,मासको झोल र माटोको सम्मिश्रणबाट बनाइएको मन्दिरको संरक्षण मन्दिर व्यवस्थापन समितिले गर्दै आएको छ । मन्दिरको नाममा पाखो बारी ५ तथा खेत ७ गरी १५ रोपनी आफ्नै जग्गा रहेको वडा नम्बर ५ का वडा अध्यक्ष विमल रावतले बताउनु भयो ।
यता त्रिवेणी गाउँपालिकाले आन्तरिक तथा बाह्य श्रद्धालु भक्तजनहरूलाई आकर्षित गर्न पालिकालाई धार्मिक पर्यटनको रुपमा विकास गर्दै लगेको छ । पालिका भित्र रहेका विभिन्न धार्मिक सम्पदा,मठमन्दिर,पार्टी पौवालाई धार्मिक पर्यटनको रुपमा संरक्षण तथा प्रवर्द्धन गर्न आफूहरू लागि परेको गाउँपालिका अध्यक्ष खिम बहादुर रावतको भनाई छ । उहाँले गाउँपालिकाले संरक्षण तथा निर्माण गरेका सार्वजनिक संरचनाको संरक्षण गर्नु स्थानीयको प्रमुख दायित्व रहेको बताउनु भयो ।