होमपेज / पर्यटन
असार १९,सल्यान
प्रसिद्ध धार्मीक तथा पर्यटकीय स्थल छत्रेश्वरी गाउँपालिका ६ स्थित छत्रेश्वरी सतिपिठसम्म पुग्नका लागि निर्माण गरिएको पर्यटकीय पदमार्ग एवं अन्य भौतिक संरचनाहरुको बिहीबार उद्घाटन गरिएको छ । छत्रेश्वरी गाउँपालिकाको पहलमा संघीय सरकारको पर्यटन विभाग मार्फत ठेक्का प्रक्रियाबाट पर्यटकीय पदमार्ग निर्माण कार्यको गत साउन १४ गते यस गाउँपालिका उपाध्यक्ष श्री बुद्ध कुमारी खत्रीले सिलान्यास गर्नुभएको थियो ।
पदमार्ग निर्माण भएसंगै अबदेखि रमणीय जंगल र हरियालीको प्राकृतिक सौन्दर्य अवलोकन गर्दै छत्रेश्वरी मन्दिरसम्म पुग्न सकिने भएको छ । दुईवटा प्रतिक्षालय, एउटा आधुनिक र अपांगतामैत्री सौचालय, ठाउँठाउँमा यात्रु विसौनीहरु तथा मन्दिर देखि शंखमुलसम्म १३६० मिटर र छायाँढुंगा तर्फ दुईसय मिटर बढी ढुंगा विछ्याएर रेलिङ सहितको पदमार्ग निर्माण गरिएको छ । अन्य विभिन्न भौतिक संरचनाहरु समेत बनाइएको छ । जाजरकोट, दैलेख र प्युठानबाट ढुंगा ल्याएर पदमार्गको सिँढीहरु बनाइएको हो ।
तीन करोड ११ लाख रूपैयाँ लागतको छत्रेश्वरीको पदमार्ग निर्माणका लागि रामेछाप .सानु दामोदर जे.भी(ले दुई करोड ६४ लाख रुपैयाँमा २०८२ भदौ सम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । सम्झौता अवधि अगावै निर्माण कम्पनीले काम सम्पन्न गरेको भन्दै निर्माण कम्पनीलाई यस गाउँपालिकाले धन्यवाद दिएको छ ।
राप्ती लोकमार्ग स्थित शंखमुलबाट छत्रेश्वरी मन्दिर सम्म गाडीमा पुग्नको लागि सडकको समेत सुविधा रहेको छ भने भक्तजन एवं पर्यटकहरुलाई थप सहजताका लागि पालिकाको योजना अनुसार बजेट व्यवस्थापन भएर पदमार्ग लगाएतका संरचना बनेका हुन् । छत्रेश्वरी सतिपीठमा अझै अन्य पूर्वाधार विकासका लागि पर्यटन विभागसंग यस गाउँपालिकाले समन्वय गरिरहेको छ ।
सत्ययुगको ऐतिहासिक सन्दर्भसँग जोडिएको छत्रेश्वरी मन्दिर सतीदेवीको शक्तिपीठको रूपमा चिनिन्छ । जनविश्वास अनुसार भगवान शिवले सतीदेवीको मृत शरीर बोकी विश्व यात्रा गर्नेक्रममा यसै स्थानमा सतीदेवीको शरीरको शेष अंग खसेको थियो । यही ऐतिहासिक मान्यता अनुसार यो स्थान शक्तिपीठको रूपमा पूजनीय रहँदै आएको छ । हरेक वर्ष महाशिवात्री तथा अन्य चाडपर्वहरूमा हजारौं श्रद्धालु यो मन्दिरमा दर्शनका लागि आउने गर्दछन् ।
धार्मिक पर्यटनका लागि एक सुन्दर गन्तव्य स्थल बनेको छत्रेश्वरी मन्दिर सदरमुकाम सल्यान खलंगा देखि पुर्ब तिर २३ किलोमिटर र राप्ती राजमार्गको नजिकै शंखमुलबाट ४ किलोमिटरको दुरीमा माथि थुम्कोमा अबस्थित छ ।
छत्रेश्वरी सतिपीठसंगै जोडिएको शंखपार्क पनि भक्तजन एवं पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको छ । श्रीस्वस्थानी व्रतकथामा सल्यानको शंखमूलको वर्णन गरेको पाइन्छ । शंखमूल नजिकैको पहाड छत्रेश्वरीमा सतिदेवीको शेष अंग पतन भएपछि महादेवले शंखमूलको कुण्डमा स्नान गरी कैलाश पर्वततर्फ गएको किंवदन्ती छ ।
सल्यान जिल्लासँंगै छिमेकी जिल्ला रूकुम, रोल्पा, दाङ लगायतका तिर्थालुहरूका लागि यो एक धार्मिक गन्तव्य बनेको छ । यहाँ कर्णाली प्रदेशको राजधानी र दाङ देखी सीधा सवारी साधान मार्फत् पुग्न सकिन्छ । यहि मन्दिरको नामबाट गाउँपालिकाको नाम समेत राखिएको छ ।





.jpg)