ट्रेण्डिङ

होमपेज / पर्यटन

सल्यान कपुरकोटको दक्षिण कालिका मन्दिर दैनिक खुल्ने

  सल्यान खबर डेस्क २०८० भाद्र ८ गते शुक्रबार २१:२१:२९ मा प्रकाशित

सन्तोष घर्ती सल्यान,८ भदौ ।

सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मा रहेको दक्षिण कालिका भगवती मन्दिरमा दैनिक पूजापाठ गर्न सकिने भएको छ । मन्दिर व्यवस्थापन समितिले बृहत् भेला गरेर दैनिक मन्दिर खुल्ला राख्ने निर्णय गरे पछि दैनिक पूजापाठ गर्न सकिने भएको हो ।

बि.सं.१९२८ साल तिर दाङ सल्यान यात्रा गर्ने बटुवाहरूले भगवतीदेवीको स्वरूप देखेर पूजापाठ गरी मनोकाङ्क्षा पुरा भएको देखे पछि मन्दिर स्थापना गरिएको थियो । यस अघि दक्षिण कालिका भगवती मन्दिरमा नवदुर्गाको दिनमा मात्र पूजापाठ गर्ने गरिएकोमा आउँदो भदौ १४ गते जनपूर्णिमाको दिन देखि ब्राह्मणको उपस्थितिमा दैनिक पूजापाठ गर्न सकिने व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डम्बर बहादुर ऐरीले जानकारी दिनु भयो ।

लामो समय देखि स्थानीय बासिन्दाहरूले संरक्षण गर्दै आएको र आर्थिक वर्ष २०७७।०७८ मा गाउँपालिकाबाट विनियोजन बजेटबाट निर्माण गरिएको दक्षिण कालिका मन्दिरमा अब देखि नियमित बिभिन्न पूजापाठ,विवाह,व्रतबन्ध लगायतका धार्मिक संस्कारका कार्यहरू गर्न सकिने मन्दिरका पुजारी भुवनेश्वर गौतमले जानकारी दिनु भयो ।

दक्षिण कालिका मन्दिर कपुरकोट गाउँपालिकाको धार्मिक पर्यटकीय स्थल मध्य एक हो । कपुरकोट बजारबाट करिब १ किलो मिटर दक्षिणमा रहेको सुन्दर,शान्त र मनोरम वातावरणमा अवस्थित यो मन्दिर १४३२ मिटर को उचाइमा छ । यो मन्दिरमा शुद्ध मनले पूजापाठ गरेमा आफूले चिताएको कुरा पुरा हुने जनविश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top