ट्रेण्डिङ

होमपेज / पर्यटन

विश्व वातावरण दिवसको अवसरमा कुपिण्डे ताल सरसफाइ

  सल्यान खबर डेस्क २०८० जेठ २२ गते सोमबार १८:२७:०३ मा प्रकाशित

जेठ २२,सल्यान 

विश्व वातावरण दिवसको अवसरमा कुपिण्डे ताल सरसफाइ गरिएको छ ।  दिवसको अवसरमा वनगाड कुपिण्डे नगरपालिकाले जिल्लाकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलमा सरसफाइ गरेको हो । 

प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरण मैत्री  विकल्पको उपयोग गरौँ भन्ने नारा सहित देशका १०० पर्यटकीय गन्तव्यमा पर्ने कुुपिण्डेमा एक कार्यक्रमको आयोजना गरी दिवस पनि मनाइएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले वातावरण जोगिएन भने मानव मात्र हैन पृथ्वीका जीवजन्तु पनि नरहने बताउनु भयो । वातावरण बिग्रेमा हरेक प्राणी रोगी बिरामी हुने भन्दै उहाँले अव आफ्नो कार्यकालमा जथाभाबी सडक नबनाइने धारणा राख्नु भयो । 

उहाँले विगतमा विकासलाई दिगो बनाउन नसक्नुमा सचेत नागरिकको रुपमा आफ पनि जिम्मेवार भएको भन्दै अहिले सरकारको तर्फबाट कुपिण्डेतालसंग माफी मागेर बाटो खनेर बिगार्न नदिने र स्थानीयलाई रुख नकाट्न तथा चराचुरुङ्गी अनि वन्यजन्तु जोगाउने अभियान लाग्न अनुरोध गर्नु भयो ।  

प्रमुख बुढाथोकीले कानुन बनाएर तालको व्यवस्थापन गरिने भन्दै बिगार्ने जो कोहीलाई पनि कारबाही हुने र गिट्टी बालुवा निकासीका लागि अहिले नगरले रोकेको र अव व्यवस्थित गरिने बताए । 

उहाँले भन्नु भयो “हरेक व्यापारीले व्यापार दर्ता गरेर सञ्चालन गर्नु पर्ने र कुपिण्डे तालका व्यापारीहरूलाई नगरले तालिमको व्यवस्था गर्छ अनि व्यवसाय राम्रो हुन्छ ।”

मानव निर्मित उद्योग धन्दा तथा विकास निर्माणका कारण बनजंगल खोलानाला वातावरण बिग्रेका छन् त्यस कारण मानव अतिक्रमणलाई रोक्नुपर्छ उहाँले भन्नु भयो  । 

माओवादी जनयुद्धमा गठन गरिएको जिल्ला जनसरकारको प्रमुख हुँदा आफूहरूले पहिलो पटक २ वटा काठको डुङ्गा सञ्चालन ल्याएको भन्दै उहाँले सल्यानको कुपिण्डेतालले देशबाट मात्रै हैन विदेशबाट समेत पर्यटक भित्राउन सके  सरकार तथा व्यवसायीलाई राजस्वको रुपमा लाखौँ रकम उठ्ने बताउनु भयो । 

कार्यक्रमलाई सम्बोधनका क्रममा प्रमुख प्रशासकीय अधिकृत  जगत बहादुर  घर्तीले मानव सृजित वातावरणको प्रदूषणका कारण जलवायु परिवर्तन भएको भन्दै यसलाई रोक्नुपर्ने बताए ।

कार्यक्रममा वडा अध्यक्ष कुलबहादुर पुरी, गणेश वि सी, कार्यपालिका सदस्य नम्रता कामी, लेखा अधिकृत दिनेश भण्डारी, प्राविधिक शाखा प्रमुख महेश देवकोटा, स्वास्थ्य शाखा प्रमुख वासुदेव पोख्रेल, जिन्सी शाखा प्रमुख घनश्याम बिसी, योग गुरु वसन्त कुमार शर्मा, शिव बहादुर वली, दिवाकर ऐरी, दीपक ऐरी, सुरक्षा कर्मीहरू, शिक्षक, विद्यार्थी, स्थानीयहरूको सहभागिता ताल सरसफाइ गरिएको छ ।

कार्यक्रमको सहजीकरण आयुर्वेद शाखा प्रमुख हेमन्त चन्दले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top