ट्रेण्डिङ

होमपेज / राजनीति

फर्केर हेर्दा स्थानीय निर्वाचन २०७४ः सल्यानका कुन स्थानीय तहमा कुन दलको कस्तो नतिजा ?

  दिपक शर्मा २०७९ बैशाख २८ गते बुधबार १४:५५:४३ मा प्रकाशित

 वैशाख २८,सल्यान 

देश सङ्घीय संरचनामा गएपछि २०७४ मा तीन तहका सरकारको स्थापना गरियो । सिंहदरबारको अधिकार गाउँ गाउँमा पु¥याउनकै लागि २०७२ साल असोज ३ गते जारी संविधानमा तीन प्रकारका शासकीय स्वरूपको व्यवस्था गरिएको छ । 

संविधानमा व्यवस्था भएअनुसार दश स्थानीय तह रहेको सल्यानमा २०७४ मा स्थानीय तह निर्वाचन सम्पन्न भएको थियो । सङ्घीयता संरचना अनुसार स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूको कार्य अवधि ५ वर्ष हो । २०७४ को निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरूको कार्यकाल २०७९ जेठ ५ मा सकिँदै छ । 

२०७४ को स्थानीय निर्वाचन र  दलगत नतिजालाई स्मरण गर्ने प्रयास गरिएको छ । तीन नगरपालिका र सात गाउँपालिका गरी सल्यानमा दस स्थानीय तह रहेका छन् । 

तत्कालीन निर्वाचनमा जिल्लामा शीर्ष मानिएका दल कांग्रेस, माओवादी केन्द्र,र नेकपा एमाले सहितका दल निर्वाचनमा होमिएका थिए । दार्मा गाउँपालिकामा कांग्रेस र एमालेले गठबन्धन गरे बाहेक अन्य तहमा पनि गठबन्धन विना नै चुनावमा होमिएका थिए । 

तत्कालीन निर्वाचनमा सल्यानका दस वटै पालिकामा शीर्ष दलहरू मध्ये कुने कति मत पाए ? कुनमा को कति मतान्तरले हारजित भएका तथ्याङ्कमा उल्लेख गरिएको छ । 

शारदा नगरपालिका 

जिल्लाको पहिलो नगरपालिकाको रुपमा रहेको शारदा नगरपालिकामा कांग्रेसबाट सुरेश अधिकारी, एमालेबाट राम कुमार खड्की, माओवादी केन्द्रबाट प्रमोद श्रेष्ठ, राप्रपाबाट मनोज कुमार प्रधान, मालेबाट टेक बहादुर केसी र स्वतन्त्रबाट जगत बहादुर न्यौपाने चुनावी मैदानमा उत्रिएका थिए । अधिकारीले ४ हजार २ सय १४ मत ल्याएर निर्वाचित भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी खड्कीले ३ हजार ३ सय ४४ मत ल्याएका थिए । यस्तै श्रेष्ठले २ हजार ५ सय ७०, प्रधानले २ हजार ४ सय र न्यौपाने २४ मत ल्याएका थिए । 

उपप्रमुख तर्फ कांग्रेसकी सावित्रा बस्नेत घर्तीले ४ हजार १ सय ८० मत ल्याएर निर्वाचित भएकी थिइन । उनको निकटतम प्रतिस्पर्धी एमालेकी सरिता हमाल मल्लले ४ हजार ३७ मत प्राप्त गरेकी थिइन । 

बागचौर नगरपालिका 

बागचौर नगरपालिकामा माओवादीका लोकमान बुढाथोकीले ५ हजार १ सय २१ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गोरख बहादुर खत्रीले ३ हजार ५ सय ६५ मत ल्याएका थिए एमालेका लोक बहादुर डाँगीले ३ हजार ३ सय ८० मत  पाएका थिए । 

उपमेयरमा माओवादी केन्द्रकै कल्पना पुनले ५ हजार २ सय १५ मत ल्याएर निर्वाचित हुँदा एमालेकी ओकादेवी खत्रीले ३ हजार ५ सय ९० र कांग्रेसकी मेनका चन्दले ३ हजार ४ सय ९६ मत प्राप्त गरेकी थिइन । 

बनगाड कुपिण्डे नगरपालिका 

बनगाड कुपिण्डे नगरपालिकामा एमाले र माओवादी केन्द्रको टक्कर परेको थियो । एमालेका गोविन्द कुमार पुनले ५ हजार ७७ मत ल्याएर विजयी हुँदा माओवादीका कर्ण बहादुर बुढाथोकीले ४ हजार ९ सय ८४ मत ल्याएका थिए । 

उपमेयरमा भने माओवादी विजयी भएको थियो । माओवादीकी मन्जुर यरीले एमाले र कांग्रेसका साझा उम्मेदवार दीपेन्द्र विष्टलाई ४ सय ७ मतले पराजित गरेकी थिइन । यरीले ४ हजार ८ सय ६२ मत ल्याएर विजयी हुँदा विष्टले ४ हजार ४ सय ५५ मत प्राप्त गरेका थिए । 

त्रिवेणी गाउँपालिका 

त्रिवेणी गाउँपालिकामा कांग्रेस र एमालेको टक्कर परेको थियो । कांग्रेसका मान बहादुर डाँगीले २ हजार ७ सय ६५ मत गरेर निर्वाचित हुँदा एमालेका लोकेन्द्र सिंह खड्काले २ हजार ३ सय १७ मत ल्याएका थिए । माओवादी केन्द्रका अजय रोकाले ६ सय ७८ मत प्राप्त गरेका थिए । 

उपाध्यक्षमा पनि कांग्रेसकै करुण खड्काले २ हजार ३ सय ४५ मत ल्याएर विजयी हुँदा उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी पवित्रा केसीले २ हजार ३ सय ७७ मत ल्याएकी थिइन । 

दार्मा गाउँपालिका 

दार्मा गाउँपालिकामा माओवादी केन्द्रले एमाले र कांग्रेसका साझा उम्मेदवारलाई पराजित गरेर गरेर निर्वाचित भएको थियो । माओवादीका निम बहादुर केसीले ३ हजार ६ सय ९४ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामचन्द्र केसीले २ हजार ७ सय ७१ मत ल्याएका थिए । 

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी टिका शर्मा वलीले ३ हजार ६ सय १९ मत ल्याएर निर्वाचित भएका भएकी थिइन । उनले भने साझा उम्मेदवार एमालेका दल बहादुर केसीले २ हजार ६ सय १९ मत ल्याएका थिए । 

सिद्ध कुमाख गाउँपालिका 

सिद्ध कुमाख गाउँपालिकामा एमाले ( हाल एकीकृत समाजवादी) का चित्र बहादुर चलाउनेले १ हजार ९ सय २५ मत ल्याएर निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नरवीर चलाउनेले १ हजार ५ सय ३८ मत ल्याउँदा कांग्रेस नरवीर चलाउनेले १ हजार ३ सय १३ मत ल्याएका थिए । उपाध्यक्षमा एमालेकी पुष्पा कुमारी बोहराले १ हजार ९ सय ४६ मत ल्याएर निर्वाचित भएकी थिइन । उनको निकटतम प्रतिद्वन्द्वी माओवादीकी भूमि बुढाथोकीले १ हजार ५ सय ९९ मत प्राप्त गरेकी थिइन । 

छत्रेश्वरी गाउँपालिका 

छत्रेश्वरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेस निर्वाचित भएको थियो ।  कांग्रेसका सन्तोष केसीले २ हजार ९ सय २२ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी एमालेका ओज बहादुर बुढाथोकीले २ हजार ७ सय २ र माओवादीका चित्र बहादुर केसीले २ हजार १ सय ७२ मत प्राप्त गरेका थिए । 

उपाध्यक्षमा कांगे्रसकी सीता केसीले २ हजार ८ सय १४ मत ल्याएर विजयी हुँदा एमालेकी बुद्धा केसीले २ हजार ६ सय ६९ र माओवादीकी राधा कुमारी घर्ती शर्माले २ हजार १ सय ७ मत ल्याएकी थिइन । 

कुमाख गाउँपालिका 

कुमाख गाउँपालिकामा दुवै पदमा माओवादी निर्वाचित भएको थियो । माओवादीकी दिलमाया बुढामगर गिरीले ३ हजार ६ सय ७३ मत ल्याएर विजयी भएकी थिइन ।  उनको निकटतम प्रतिद्वन्द्वी एमालेका भैरव बहादुर शाहले २ हजार १ सय २८ र कांग्रेसका विवेक सिंह राठौरले १ हजार ९ सय ३९ मत ल्याएका थिए । 

उपाध्यक्षमा माओवादीका डिल्लीराज जैसीले ३ हजार ८ सय १८ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी एमालेकी शान्ति चन्दले २ हजार ७५ र कांग्रेसकी उर्मिला रानाले १ हजार ८ सय ७३ मत ल्याएकी थिइन । 

कालिमाटी गाउँपालिका 

कालिमाटी गाउँपालिकामा एमाले र माओवादीको टक्कर परेको थियो । एमालेका दान बहादुर खत्री केसीले विजयी भएका थिए । उनले २ हजार ९ सय १२ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका पुरुषोत्तम भट्टराईले २ हजार ३ सय ६३ मत पाएका थिए । कांग्रेसका भरत पुनले १ हजार ९ सय २९ मत ल्याएका थिए । 

उपाध्यक्षमा एमालेकी सनसिल्ता वली डिसीले २ हजार ९ सय ४४ मत प्राप्त गरेर विजयी भएकी थिइन । उनको प्रतिद्धन्द्धीको रुपमा माओवादीकी प्रीति बिसी डिसीले २ हजार ३ सय ३६ मत प्राप्त गरेकी थिइन । कांग्रेसकी कमला अधिकारीले १ हजार ९ सय १७ मत ल्याएकी थिइन । 

कपुरकोट गाउँपालिका 

कपुरकोट गाउँपालिकामा एमालेले दुवै पदमा जित हात पार्न सफल भएको थियो । एमालेका भीम बहादुर सेनले ३ हजार १ सय ५२ मत प्राप्त गरी विजयी हुँदा माओवादीका प्रकाश भण्डारीले २ हजार १ सय ३५ मत प्राप्त गरेका थिए । 

उपाध्यक्षमा एमालेकी तिला बुढा मगरले ३ हजार १ सय ७१ मत प्राप्त गरी निर्वाचित भएकी थिइन । उनको निकटतम प्रतिद्वन्द्वी माओवादीकी एलिना रानाले १ हजार ८ सय ६८ मत ल्याएकी थिइन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top