ट्रेण्डिङ

होमपेज / राजनीति

एमसीसीको विष मरिसक्यो, अब कुनै शङ्का छैन: मन्त्री लामा

  हिमाल शर्मा २०७८ फाल्गुण २१ गते शनिबार १८:०४:२३ मा प्रकाशित

हिमाल शर्मा सल्यान २१, फागुन । 

कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री छिरिङ डम्दुल लामा (कार्चेन ) ले अमेरिकी सहयोग परियोजना एमसीसीको व्याख्यात्मक रूपमा पारित भएकाले यसको कार्यान्वयनमा कुनै समस्या नभएको बताउनुभएको छ । उहाँले एमसीसीमा भएको शङ्का उप शङ्का  मरिसकेकोले अब कार्यान्वयनमा कुनै समस्या नभएको र छिटोभन्दा छिटो कार्यान्वयन गर्नुपर्ने बताउनुभएको हो ।

महान् जनयुद्धको २७ औँ वार्षिकोत्सव तथा सहिद दिवसका अवशरमा नेकपा माओवादी केन्द्र दार्मा गाउँ समितिको आयोजनामा शनिवार सम्पन्न जनप्रशिक्षण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । एमसीसीका बारेमा धेरै शङ्कास्पद बुदाँहरु समावेश गरिएको थियो, तर व्याख्यात्मक बुदाँहरु समावेश गरेर पारित गरिएको छ, उहाँले भन्नुभयो ।  शङ्काहरूलाई  निकालेको सर्प जस्तै गरेर एमसीसीको बारेमा भएका गलत प्रावधान छुटाइएको छ, अब यसमा कुनै समस्या छैन, शङ्का पनि गर्नु हुँदैन । 

 

उहाँले एमसीसीलाई जालो थापेर सत्ता गठबन्धनलाई विभाजन गर्ने ओलीको सपना तुहिएको बताउनुभयो । जस्ताकोत्यस्तै एमसीसी पारित गर्न सहयोग गर्ने तर सभामुखलाई महाअभियोग लगाउनुपर्ने, प्रधानन्यायाधीश माथि लगाइएको महाअभियोग फिर्ता गर्नुपर्ने तथा सत्ता गठबन्धनलाई तोड्ने सपना हाम्रो नेतृत्वले तुहाइ दियो, उहाँले भन्नुभयो विदेशी राष्ट्रहरुसंगको सम्बन्धलाई बलियो बनाउँदै एमसीसी परियोजना सञ्चालन गर्न सफल भएका छौँ । 

मन्त्री लामाले जनताका लागि विकास र समृद्धि आवश्यकता भएको र सोही अनुसार आफूहरूले काम गरिरहेको बताउनुभयो । रोटो र भोटोको ग्यारेन्टीको लागी हाम्रो पार्टी अगाडि बढेको छ र सोही अनुसार काम पनि गरिरहेको छ उहाँले भन्नुभयो ।  विगत र अहिलेको विकासको तौरतरिका फरक भएको र आफ्नो पार्टी सत्तामा रहँदा जहिले पनि जनताको पक्षमा काम गरेको बताउनुभयो ।

पार्टीका प्रदेश कमिटी सदस्य समेत रहनुभएका लामाले आउँदो निर्वाचनमा माओवादी केन्द्रलाई देश कै ठुलो पार्टी बनाउनको लागि सक्रियताका साथ लाग्न सबै नेताकार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो । 

पार्टीका जिल्ला संयोजक कृति बहादुर पुन, प्रदेश कमिटी सदस्य भिमप्रकाश शर्मा, रत्न बहादुर वली, ज्ञान बहादुर वली, निम बहादुर केसी, अनन्त प्रसाद शर्मा, रमेशकुमार मल्ल, जुना मल्ल चन्द, ज्येष्ठ कम्युनिस्ट मञ्चका केन्द्रीय सदस्य वासुदेव मल्ल, दलित मुक्ति मोर्चाका जिल्ला संयोजक मानसिंह बिक लगायतले बोल्नुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top