होमपेज / राजनीति
दीपक शर्मा असोज ६,सल्यान
नेपाली कांग्रेसको महाधिवेशन चली रहेकाले अहिले कांग्रेस नेता कार्यकर्ता सबै गाउँघर केन्द्रित भएका छन् । वडाको निर्वाचन भ्याई सकेको कांग्रेस पालिका, क्षेत्र र जिल्लाको अधिवेशनको दौडधुपमा लागेका छन् । स्पष्ट दुई प्यानल नै खडा गरेर कांग्रेसले गाउँ केन्द्रित अभियान सञ्चालन गरी रहेको छ । आफ्नो पक्षमा पार्न यति बेला उम्मेदवारहरु गाउँ केन्द्रित अभियानमा छन् । आफ्नो प्रभाव छोड्न नेताहरु प्रचारप्रसार समिति बनाएर उम्मेदवार, नेता तथा कार्यकर्ता चुनावी अभियानमा गाउँ छिरेका छन् ।
माओवादी र एमालेको एकता पछि नेकपा भएको समयमा पार्टी सङ्गठनलाई खासै महत्त्व नदिएको अवस्थामा पार्टी फुटसँगै नेकपा (माओवादी केन्द्र) पनि गाउँ केन्द्रित भएको छ । माओवादीले स्थानीय तहसम्म पार्टी इन्चार्ज, अध्यक्ष र सचिव तोकेपछि उनीहरू गाउँ गाउँमा पसेका छन् । प्रशिक्षण, पार्टी सदस्यता वितरण, नवीकरण लगायतका काममा उनीहरू गाउँमा नै छन् ।
यस्तै एमालेबाट विद्रोह गरेको दाबी गरेको नेकपा (एकीकृत समाजवादी) र एमाले पनि आफ्नो पक्षमा कार्यकर्ता फकाउन गाउँमै केन्द्रित भएका छन् । समाजवादी र एमालेले आफ्नो बहुमत पुर्याउन सदस्यता वितरण, नवीकरण, भेला प्रशिक्षणलाई तीव्रता दिएका छन् ।
जिल्लामा क्रियाशील चार वटै दल गाउँ केन्द्रित हुँदा गाउँघरको रौनक नै भिन्न भएको छ । निर्वाचनको समयमा मात्र गाउँ केन्द्रित हुने राजनीतिक दलहरू अहिले भने सङ्गठन विस्तार तथा निमार्णलाई पहिले प्राथमिकता दिएर गाउँ केन्द्रित भएका छन् ।

पार्टी विभाजन हुँदा टोलदेखि माथिल्लो स्तरसम्म सङ्गठन गठन पुनः गठन गर्नु पर्ने भएकाले अहिले राजनीतिक चहलपहल बढेको नव गठित नेकपा (एकीकृत समाजवादी) सल्यानका सचिव रमेश गौतमले बताए । टोलदेखि नै नयाँ पार्टी सङ्गठन निमार्ण गर्नु पर्ने भएकाले नयाँ सदस्यता वितरण, र पार्टी फुटको कारण तल्लो कमिटीसम्म पुर्रयाउँन पनि आफ्नो पार्टी गाउँ गाउँ पुगी रहेको उनको भनाई छ ।
पार्टी सदस्यता वितरण र नवीकरण मार्फत पार्टी पुनर्गठन गरी रहेको माओवादी केन्द्रका टिकाराम ओलीले बताए । दुई पटकको कोरोनाको कहर र अन्य कारण राजनीतिक गतिविधि ठप्प जस्तो भइरहेको समयमा पछिल्लो समय भने राजनीतिक सरगर्मी बढेको ओलीको भनाई छ । उनले भने ‘मुख्यतः पार्टीको आन्तरिक सङ्गठन सुढिद्धिकरण हो । त्यससँगै आउँदै गरेको स्थानीय तहको तयारीको रुपमा पनि हामी अघि बढी रहेका छौँ ।’ अघिल्लो निर्वाचन यता गाउँघरमा खासै पार्टीका गतिविधि नभएको र पछिल्लो घटनाक्रमका कारण पनि पार्टी पुनर्गठन गर्न अभियान नै सञ्चालन गरेर अघि बढी रहेको उनको भनाई छ ।

नेपाली कांग्रेस भने १४ औँ महाधिवेशनलाई लक्षित गरी गाउँ फर्किएको छ । जिल्लामा रहेका सबै वडामा निर्वाचन सम्पन्न गरी सकेको कांग्रेसले पालिका, निर्वाचन क्षेत्र र जिल्लाको अधिवेशनलाई केन्द्रित गरी कार्यक्रम सञ्चालन गरी रहेको नेपाली कांग्रेस सल्यानका सचिव प्रकाश भण्डारीले बताए । बिचमा कोरोना आयो, अन्य विविध कारणले पनि जनस्तरसम्म जान सकिएको थिएन अहिले महाधिवेशनलाई सफल बनाउन पार्टीका गतिविधिलाई सक्रिय बनाएको भण्डारीको भनाई छ । पार्टीको मूल जग नै कार्यकर्ता भएकाले कार्यकर्ता केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आइरहेको उनको भनाई छ ।






.jpg)