ट्रेण्डिङ

होमपेज / अपराध

अवैध हातहतियार मुद्दाका फरार प्रतिवादी सल्यानबाट पक्राउ

  सल्यान खबर २०८३ असार २३ गते मंगलबार २१:१५:२३ मा प्रकाशित

सल्यान, असार २३ । अवैध हातहतियार सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई सल्यान प्रहरीले पक्राउ गरेको छ। अदालतले कैद र जरिवानाको सजाय सुनाएपछि फरार रहेका प्रतिवादीलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रहरीका अनुसार सल्यान जिल्ला अदालतको २०८२ जेठ १६ गतेको फैसलाले अवैध हातहतियार मुद्दामा १७ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना सजाय तोकेका प्रतिवादी सल्यान छत्रेश्वरी गाउँपालिका ३ झिंटे निवासी २८ वर्षीय सुरेन्द्र पुन मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनु भयो । फैसलापछि फरार रहेका पुन मगरलाई जिल्ला प्रहरी कार्यालय सल्यान तथा मातहत प्रहरी चौकी सिटलपाटीबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार शारदा नगरपालिका–१ श्रीनगर बजार क्षेत्रबाट पक्राउ गरेको उहाँको भनाई छ ।

पक्राउ परेका पुन मगरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि सल्यान जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रहरीका अनुसार अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई जिल्लाभर प्रभावकारी रूपमा सञ्चालन गरिएको छ। अदालतका फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै फरार अभियुक्तलाई कानुनी दायरामा ल्याउने कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।

अवैध हातहतियार राख्ने, ओसारपसार गर्ने वा प्रयोग गर्ने कार्य कानुनविपरीत भएकाले यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही हुने व्यवस्था रहेको प्रहरीले स्मरण गराएको छ। शान्ति सुरक्षा कायम राख्न तथा अपराध नियन्त्रणका लागि प्रहरीले नियमित निगरानी र विशेष अभियान सञ्चालन गर्दै आएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानले अदालतबाट सजाय तोकिएर फरार रहेका व्यक्तिका बारेमा कुनै सूचना भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराई सहयोग गर्न सर्वसाधारणसँग आग्रह गरेको छ। प्रहरीले फरार प्रतिवादी पक्राउ अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top