ट्रेण्डिङ

होमपेज / अपराध

सल्यानमा एक वर्षमा लागूऔषधसहित २२ जना पक्राउ

  सल्यान खबर डेस्क २०८३ श्रावण ७ गते बिहीबार २०:५८:१८ मा प्रकाशित

सल्यान। जिल्ला प्रहरी कार्यालय सल्यानले आर्थिक वर्ष २०८२/०८३ मा लागूऔषध नियन्त्रण अभियानअन्तर्गत विभिन्न कारबाही सञ्चालन गर्दै २२ जनालाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईका अनुसार गत आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानमा गरिएको खोजतलास तथा निगरानीका क्रममा विभिन्न प्रकारका लागूऔषध बरामद गरिएको हो।

प्रहरीले उक्त अवधिमा ७ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर, १२६ ग्राम ९७० मिलिग्राम चरेस, ९५० ग्राम सुकेको गाँजा, ४० ग्राम हरियो गाँजा तथा नेट्राजोम–१० का ८ वटा ट्याब्लेट बरामद गरेको जनाएको छ।

सूचना अधिकारी भट्टराईका अनुसार लागूऔषध ओसारपसार, बिक्री–वितरण तथा सेवनमा संलग्न रहेको आरोपमा २२ जनालाई पक्राउ गरी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ।

प्रहरीले पछिल्लो समय जिल्लामा लागूऔषधको अवैध कारोबार तथा प्रयोग नियन्त्रणलाई प्राथमिकतामा राख्दै नियमित निगरानी, चेकजाँच र विशेष अभियान सञ्चालन गर्दै आएको जनाएको छ। विद्यालय, समुदाय तथा स्थानीय तहसँग समन्वय गरी लागूऔषध दुरुपयोगविरुद्ध सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक भट्टराईले लागूऔषध नियन्त्रणमा नागरिकको सहयोग आवश्यक रहेको उल्लेख गर्दै अवैध कारोबार वा शंकास्पद गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालयमा सूचना दिन सर्वसाधारणसँग आग्रह गर्नुभयो।

जिल्ला प्रहरी कार्यालय सल्यानले लागूऔषधमुक्त समाज निर्माणका लागि नियन्त्रणात्मक कारबाहीसँगै जनचेतना अभिवृद्धिका कार्यक्रमलाई पनि निरन्तरता दिने जनाएको छ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top