होमपेज / अपराध
असार १२,सल्यान
जबरजस्ती करणी उद्योग मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई सल्यान प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार उच्च अदालत सुर्खेतको २०८१ असोज १२ गतेको फैसलाले ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना सजाय तोकिएका फरार प्रतिवादीलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका–५ डाँडासल्लेका ३४ वर्षीय भुप बहादुर कामी रहेका छन्। उनी अदालतको फैसला पछि फरार रहँदै आएका थिए।
जिल्ला प्रहरी कार्यालय लुहाम सल्यान र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा १२ गते आफ्नै घरबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका कामीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि सल्यान जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो।
फरार प्रतिवादीको खोजतलास तथा अदालतबाट भएका फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै प्रहरीले अभियानलाई निरन्तरता दिएको जनाएको छ। अदालतबाट सजाय तोकिएर फरार रहेका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने कार्यलाई थप प्रभावकारी बनाइने प्रहरीको भनाइ छ।





.jpg)